• १९ असोज २०८१, शनिबार

गाउँको तोरीबाट गाउँमै तेल उत्पादन

blog

सहकारी संस्थाले सञ्चालनमा ल्याएको तेल मिल । तस्विरः गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसिपुर, असोज १९ गते । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको उरहरी साना किसान कृषि सहकारी संस्थाले गाउँको तोरीबाट गाउँमै तेल उत्पादन सुरु गरेको छ । 

सहकारी संस्थाले  गाउँमा उत्पादन भएको तोरी किसानले बजारमा बिक्री गर्ने र बाहिरबाट आयात गरिएको तेल खरिद गर्नेक्रम बढेपछि गाउँमै तेल मिल सञ्चालनमा ल्याएको संस्थाका उपाध्यक्ष अर्जुन बस्नेतले बताउनुभयो ।

उहाँले  एक घण्टामा तीनसय केजी तोरी पेल्ने क्षमता रहेको तेल मिल ६ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याइएको बताउनुभयो । उपाध्यक्ष बस्नेतले सहकारी संस्थाका सदस्यलाई शुद्ध तेल प्रयोग गर्न र गाउँमै उत्पादन भएको तोरी सहकारी संस्थामा खरिद गरी  गाँउबाटै तेल बिक्री गरी वार्षिक ३५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकालाई तोरीजोन क्षेत्रका रूपमा विकास गरी तोरी उत्पादनमा वृद्धि गर्नका लागि तोरीको बीउ बिजनमा किसानलाई अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाँले तोरी उत्पादनलाई वृद्धि गर्नका लागि पालिकाबाट सिँचाइ सुविधाको समेत व्यवस्था गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले वडामा रहेका भूमिहीनलाई कृषिजन्य वस्तु उत्पादन गरे जग्गा प्रयोगबापतको रकम वडाबाटै भुक्तानीको व्यवस्था गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले पालिकाभित्र तीन हजार हेक्टर क्षेत्रफलमा दुई हजार पाँचसय ५० मेट्रिक टन तोरी वार्षिकरुपमा उत्पादन हुने बताउनुभयो । उहाँले यस वर्ष अनुदानका लागि ४५ क्विन्टल तोरीको बीउ खरिद गरिएको बताउनुभयो ।