• १३ असोज २०८१, आइतबार

गाउँमा डेरी चलाउनेलाई किसानको मत

blog

लहान समाचारदाता 

लहान, कात्तिक ३० गते । ग्रामीण भेगका किसानले पशुपालन गरेर उत्पादन गरेको दूध बिक्री गर्न डेरी सञ्चालन गरिदिन विश्वासिलो आधार दिने उम्मेदवारहरूलाई मत दिने किसानले बताएका छन्। 

लहानको मुख्य चोकमा सडक किनारमा बिहानै आई घण्टौँ उभिएर दूध बिक्री गर्न समस्या खेपिरहेका ग्रामीण भेगका किसानले यस्तो माग गरेका हुन्। लहान–२० का शिवनाथ साह, रामप्रसाद महतोलगायत तीन दर्जनभन्दा बढी किसान दूध बिक्री गर्न चोकमा आउँछन्। उनीहरूले चार/पाँच घण्टा उभिएर दूध बिक्री गर्नु परिरहेको बाध्यता व्यक्त गर्दै यो समस्या समाधान गर्ने दलहरूलाई मत दिने बताए। 

लहान–१३ का अर्का किसान रघुवीर यादवले किसानको समस्या समाधान गर्ने विश्वसनीय आधार किसानले खोजिरहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ, “किसानलाई समयमा मलखाद उपलब्ध हुँदैन, जसोतसो उत्पादन गरेको तरकारी र पशुपालन गरेर उत्पादन गरेको दूध बिक्री हुँदैन भने कृषि विकास बैङ्कले मध्यम वर्ग र निम्न वर्गका किसानलाई समयमा ऋण दिन्नन्। किसानले भोगेको समस्या समाधान गर्न विगतमा जितेर गएका प्रतिनिधिहरू गम्भीर भएनन्।

लहानका डेरीहरूमा भारतीय बजारबाट ल्याएको धुलो दूधबाट दही र अन्य दूधजन्य परिकार तयार पार्छन् तर किसानको दूध खरिद नगर्दा सडकको किनारमा उभिएर दूध बिक्री गर्ने बाध्यता रहेको नेपाल कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदीपसिंह दनुवारले बताउनुभयो। किसानको समस्या समाधान गर्ने प्रतिबद्धता खोज्नु स्वाभाविक भएको उहाँले बताउनुभयो। विगतका हरेक निर्वाचनमा किसानको समस्या समाधान गर्न गरेका प्रतिबद्धता पूरा नगरेकाले किसानले यस चुनावमा विश्वासिलो आधार उम्मेदवारसँग खोज्नु जायज भएको नागरिक अगुवा दिनेश यादवले तर्क गर्नुभयो।