प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १० गते । सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरमा एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा कुल ३८५ जनाले सेवा लिएका थिए।
बिरामीमध्ये २०९ महिला र १७६ पुरुष रहेका छन्। त्यस्तै, ९८ जना ज्येष्ठ नागरिक, ५५ जना स्तनपान गराइरहेका आमाहरू र ७० जनाले क्षारसूत्रसम्बन्धी सेवा लिएका छन्। पाइल्स, फिसर र फिस्टुला रोगका १३ जना बिरामीलाई शल्यक्रिया आवश्यक देखिएकाले थप उपचारका लागि व्यवस्था मिलाइएको जनाइएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूले पेटसम्बन्धी रोग, श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, दीर्घरोग, महिलाको पाठेघरसम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप तथा पाइल्स, फिसर र फिस्टुला लगायतका गुदा रोगहरूको परीक्षण र परामर्श सेवा प्रदान गरेका थिए।
आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानकी प्रमुख डा. सम्झना जिसीका अनुसार शिविरमा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा प्रदान गर्नुका साथै स्तनपान गराइरहेका आमाहरूलाई दूध बढाउने औषधी वितरण गरिएको थियो।
वडा अध्यक्ष रविलाल बस्नेतले शिविरले स्थानीयवासीमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आयुर्वेदिक उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँस्तरमा अझै स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।