• ८ मंसिर २०८१, शनिबार

चलचित्रबाट ब्रेक लिँदै अमिर खान

blog

 काठमाडौँ, कात्तिक ३० गते। बलिउड सुपरस्टार अमिर खानले ३५ वर्षको आफ्नो चलचित्रको करिअरपछि अभिनयबाट ब्रेक लिने हुनुभएको छ।

अभिनेता खान केही महिनाअघि चलचित्र ‘लाल सिंह चड्डा’मा देखिनुभएको थियो तर यो चलचित्र बक्स अफिसमा खासै जम्न सकेन। योसँगै अभिनेताले अभिनयबाट ब्रेक लिने निर्णयले उहाँका फ्यानलाई ठूलो झट्का लागेको छ। अभिनयबाट ब्रेक लिनुका साथै उहाँले आफ्नो भावी योजनाका बारेमा पनि खुलासा गर्नुभएको छ। 

हालै खानले दिल्लीमा एउटा कार्यक्रममा भाग लिनुभएको थियो। उहाँ चलचित्र ‘लाल सिंह चड्डा’पछि पहिलो पटक आफ्नो नयाँ लुक्समा सार्वजनिक हुनुभएको थियो। खैरो कपाल, कोट र चस्मा लगाउनुभएका खानको लुक निकै परिवर्तन भएको देखिन्थ्यो। कार्यक्रममा अभिनेताले धेरै विषयमा खुलेर कुरा गर्नुभयो। यसै क्रममा उहाँले अभिनयबाट ब्रेक लिन लागेको घोषणासँगै आफ्नो भावी योजना पनि सुनाउनुभयो।

भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा खानले भन्नुभयो, “जब म एक अभिनेताका रूपमा चलचित्रमा अभिनय गर्छु; म त्यसमा कति तल्लीन हुन्छु भने मेरो जीवनमा अरू केही हुँदैन।” उहाँले थप्नुभयो, “मलाई लाग्छ, म ब्रेक लिन चाहन्छु। म मेरो परिवारसँग, मेरी आमासँग, मेरा बच्चाहरूसँग बस्न चाहन्छु। म ३५ वर्षदेखि काम गरिरहेको छु। त्यसैले अब मलाई लाग्छ, मैले विश्राम लिनुपर्छ र जीवनलाई फरक तरिकाले अनुभव गर्नुपर्छ।” एजेन्सी