काठमाडौँ, चैत ९ गते । नेपाली सङ्गीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने हुनुभएको छ ।
उहाँकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारदेखि औपचारिक रूपमा छायाङ्कन सुरु गरिएको छ ।
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनी गरिएको हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको जानकारी निर्माण पक्षले दिएको छ ।
विगत लामो समयदेखि गायक र सङ्गीतकारका रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसक्नुभएका हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशकका रूपमा डेब्यु गर्दै हुनुहुन्छ ।
चलचित्रको कथा र पटकथा पनि स्वयं लम्सालले नै तयार पार्नुभएको हो । सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतूहल र चासो देखिएको छ ।
चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथावस्तु हुने सङ्केत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उहाँले सन्तानको भविष्यका लागि गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’ का रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ ।
विशेष गरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्ने निर्देशक लम्सालले बताउनुभयो ।
यो सिनेमामा स्थापित र अनुभवी सिनेमाटोग्राफर शिवराम श्रेष्ठको छायाङ्कन रहनेछ । श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसक्नुभएको छ ।
उहाँको छायाङ्कन रहने भएकाले पनि चलचित्र ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।
यस चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । गायक तथा सर्जक समेत रहनुभएका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गर्नुभएको थियो । चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहनुभएको छ ।
निर्माण पक्षले चलचित्रको छायाङ्कन सुरु गरिसके तापनि मुख्य भूमिकामा रहने कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ । ‘सरप्राइज’ दिने उद्देश्यले कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्माण टोलीले उल्लेख गरेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस चलचित्रबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोसल ड्रामा युक्त मनोरञ्जन दिने अपेक्षा राखिएको छ । छायाङ्कनको सम्पूर्ण कार्य सकिएपछि मात्र चलचित्रको प्रदर्शन मिति तोकिने जानकारी निर्माण पक्षले दिएको छ ।