• १९ असोज २०८१, शनिबार

बाढीपहिरोले अति प्रभावित पालिकालाई सहयोग गरिने

blog

बागमती प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद बैठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज, १९ गते । बागमती प्रदेश सरकारले विपत् अति प्रभावित स्थानीय तहलाई तत्काल राहत लगायतका भइपरी आउने खर्चका लागि राहतस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारले गत बिहीबारदेखि तीन दिनसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट अति प्रभावित स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको हो । 

बागमती प्रदेश सरकारको शनिबार हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले बाढी पहिरो अति प्रभावित ४५ जिल्लालाई तीन वर्गमा विभाजन गरी राहत रकम विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सरकारले विपत् अति प्रभावित ४५ जिल्लालाई बाढी पहिरोबाट भएको क्षति र जोखिमका आधारमा तीन वर्गमा विभाजन गरी राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहमार्फत नै खर्च गर्नेगरी स्थानीय तह विपत् व्यवस्थापन कोषमा सहयोग रकम निकासा गरिने बताउनुभयो । 

सातवटा पालिकालाई २० लाख, १२ वटा पालिकालाई १५ लाख र २६ पालिकालाई १० लाख रुपियाँ राहत रकम उपलब्ध गराइने छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका लामिछानेले बैठकले प्रदेश विपत् व्यवस्थापन कोषमा १० करोड ५० लाख रुपियाँ निकासा गर्ने निर्णय गरेको बताउनुभयो ।