उपसभामुख प्रतिनिधि सभा इन्दिरा रानाले हिन्दु महिलाहरूको सांस्कृतिक पर्व तीजले असमानता अन्त्य गर्न तर्फ अग्रसर हुने बताउनु भएको छ । उहाँले हिन्दु महिला दिदीबहिनीहरूले भव्य रूपमा हरितालिका तीज मनाउन समेत शुभकामना दिनुभएको छ ।
काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारणका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशका कारण उत्पन्न हुने परिस्थितिको अध्ययन र पुनरवलोकनका लागि पुनः अदालत जानुपर्ने पहल एकसाथ सुरु भएको छ । महानगरका मेयर बालेन शाहले यो सूचना जारी गरेपछि अहिले उपत्यकाभरिका थुप्रै मानिस यसको विरोधमा छन् ।
नेवार समुदायमा जीवित देवीका रूपमा पुजिने कुमारी (कन्या) लाई सामूहिक रूपमा पूजा गरिएको छ । वसन्तपुर दबलीमा १०८ कन्याहरूको सामूहिक पूजा गरिएको हो । श्री श्री श्री कुमारी भक्तजन सेवा समितिको आयोजनामा बिहीबार कन्या श्रीकुमारी पूजा गरेको हो । कुमारी पूजा बिहान १० बजेदेखि सुरु भएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका मुख्य चिताइदार गौमत शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।” शाक्यका अनुसार नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेको हुनाले हरेक वर्ष साना नानीलाई सम्मान तथा पुजिने गरिएको हो ।
नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना गुँला पर्वमा बाजागाजाका साथ स्वयम्भूमा भोज (पारु भ्वय्) खाएर सम्पन्न गरिएको छ । एक महिना मनाइने गुँला पर्वमा अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । नेपाल संवत् अनुसार दसौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको बताउँदै विशेष गरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका बताउनुभयो ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ खाता खोल्दा विभिन्न सुविधासहितको विशेष योजना सार्वजनिक गरेको छ । बैङ्कले नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो सेयर, सी आस्बा तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।
हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बाढीपीडित जलविद्युत्का माग पूरा गर्न आग्रह गरेको छ । ऊर्जा मन्त्रालयसँग बिहीबार गरेको छलफलमा सो आग्रह गरिएको हो । छलफलमा ऊर्जामन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो । निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै सरकारले विधेयकमाथि पुनर्विचार गर्न लागेको उहाँले इप्पानका अधिकारीलाई जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
लामो समयदेखि निर्माण अवरुद्ध रहँदै आएको माथिल्लो अरुण जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरोकारवाला निकायका अधिकारीसँग छलफल गर्नुभएको छ । आयोजना, लगानी बोर्ड र प्रसारण लाइन पर्ने पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बिहीबार भर्चुअल संवाद गर्दै उहाँले यसको समाधान निकाल्न सरकार तत्पर रहेको र सो अनुसार काम गर्न सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
चेक अनादरसम्बन्धी मुद्दामा सोझै कारबाही गर्न सांसदहरूले जोड दिनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा बैङ्किङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको छलफलमा सांसदहरूले चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुने बताउनुभएको हो । सरकारले कानुन बनाउँदा पीडितको संरक्षण हुने गरी कानुन बनाउनुपर्नेमा सांसदहरूको जोड थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म २५ वटा स्थानीय तहमा किसान सूचीकरणको कार्य सम्पन्न गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कृषि मन्त्रालयले १९ लाख २४ हजार किसान सूचीकृत भइसकेका छन् । त्यसमध्ये २५ वटा स्थानीय तहले पूर्णता पाएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका अनुसार असोज मसान्तसम्म २१ लाख किसानको सूचीकरण गर्ने लक्ष्य रहेको छ । कृषि गणना २०७८ अनुसार कुल किसान घरधुरी सङ्ख्या ४१ लाख ३० हजार रहेका छन् ।
झापाको कनकाई नगरपालिका वडा नं. ५ चप्रामारीस्थित भित्री सडक खण्डमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षमा १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन सम्पन्न भएको छ । काठमाडौँमा बुधबारदेखि सुरु भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्मेलनले निर्वाचनलाई थप सहभागितामूलक र समावेशी बनाउन सदस्य राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकाय सहमत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशबाहिर रहेका मतदान गर्न योग्य नागरिकलाई सम्बन्धित देशमा प्रचलित कानुन अनुरूप निर्वाचन प्रक्रियामा समावेश गर्ने विषयमा सदस्य राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका छन् ।”
तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०-८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।