• ३० भदौ २०८२, सोमबार

मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या छ हजारभन्दा बढी

blog

सिमकोट विमानस्थलमा पर्यटकहरु जिल्लाबाट बाहिरनै क्रम र सिमानस्थलमा हवाई जहाजबाट भित्रिदै । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, भदौ ३० गते ।
यसवर्ष हुम्ला जिल्लाको सिमकोटबाट हिुल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय र अन्य देशका पर्यटकहरुको सङ्ख्या छ हजार कटेको छ । चिनीयाँ सरकारले हिल्सा नाका भारतीय धार्मिक पर्यटकहरुका लागि खुल्ला गरिपछि कोरोना यताको सबैभन्दा बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका हुन् ।

यसवर्ष मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या छ हजार ४२ जना पुगेको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । जसमध्य पाँच हजार ७१७ जना भारतीय र ३२५ जना अन्य देशका पर्यटक रहेको उहाँले बताउनुभयो । मानसरोवर कैलाश पुग्ने पर्यटकमा तीन हजार ३३४ जना पुरुष र दुई हजार ७०८ जना महिला पर्यटक जिल्लामा भित्रिएका छन् । पर्यटकहरु भित्रिने सयम अझै बाँकी नै भएका कारण यो सङ्ख्यामा अझै वृद्धि हुने देखिएको छ ।

एक दिनमा १६४ उडान
पर्यटकहरु भित्रिन थालेपछि एक दिनमा १६४ वटा उडान भएको नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताउनुभयो । यसमा हवाई जहाजले नेपालगन्जबाट पर्यटक ओसार्ने कार्य गर्छ भने सिमकोट विमानस्थलबाट हिल्साका लागि हेलिकोप्टरहरुले उडान भर्ने गर्छ । यसका लागि सिताका दुई वटा, ताराका दुई वटा र समिट एयरका तीन वटा जहाज उडान भर्ने गर्ने छ भने ६ वटा हेलिकोप्टर हिल्साका लागि उडान भर्ने गर्छ ।

मौसम सफा भएमा बिहान ६ देखि ७ बजेबाट उडान भर्न सुरु हुने गरेको छ । यदि मौसम ढिलो खुल्दा दिउँसो १२ बजेपछि मात्र उडान हुने गर्छ ।

१७ वटा होटेलले काम पाए
पर्यटकको धेरै आउन थालेपछि यतिखेर हिल्सा र सिमकोटक होटल भरिभराउन हुन थालेको पर्यटन व्यवसायी मिनबहादुर तामाङले बताउनुभयो । यस क्षेत्रका होटेलहरु मौसमी रुपमा चल्ने गर्छन । यो सिजनको कमाईले वर्षभरि धान्नुपर्ने अवस्था होटेल व्यवसायीलाई रहेको छ । सिमकोटमा दस र हिल्सामा सात वटा होटेल सञ्चालनमा छन् ।

भरियालाई पनि फाइदा
पर्यटकीय मौसम सुरु भएपछि सिमकोट र हिल्सामा भरियाहरुलाई पनि फाइदा भएको सिमकोट विमानसस्थलमा भारी बोक्ने कार्य गर्दै आउनुभएका हंसे नेपालीले बताउनुभयो । यसरी भारी बोकेर कमाई गर्ने भरियाहरु दुवै स्थानमा गरी ५० भन्दा बढी रहेका छन् । सिमकोट विमानस्थलबाट होटेलसम्म एउटा झोला बोकेको भरियाले ५० रुपियाँ र हिल्सामा हेलिप्याडबाट दुई देशको सिमानासम्म प्रति झोला डेढ सय रुपियाँ भाडा लिने गर्दै आएका छन् ।  

हुम्लाको तरकारी बिक्री
हुम्लामै उत्पादन भएको तरकारीले पनि बजार पाउन कठिन नभएको तरकारी उत्पादन गर्ने किसान रुपेन्द्र रोकायाले बताउनुभयो । गत वर्षसम्म यतिधेरै पर्यटकहरु नआएका कारण उत्पादन भएको तरकारीले बजार नपाएको अनुभव सुनाउँदै उहाँले यो वर्ष समस्या भोग्नु नपरेको बताउनुभयो । पहिले जिल्लामा तरकारी उत्पादन नहुने भएका कारण पर्यटकीय सिजनमा होटेल व्यवसायीले तरकारी हवाई मार्गबाट नेपालगन्ज र सुर्खेतबाट ल्याउनुपर्ने अवस्था रहेकोमा अब भने जिल्ला मै किसानले उत्पादन गर्न सुरु गरेपछि यसले बजार पाउन पनि सहज भएको उहाँले बताउनुभयो ।