• ३० भदौ २०८२, सोमबार

आधा दर्जन पालिकाको सेवा अनिश्चित

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ३० गते ।  आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेका सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । १३ देखि २८ वर्षसम्मका युवापुस्ता अर्थात् जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपुर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको बताउनुभयो । 

प्रदर्शनकारीले गरेको आगजनीबाट लालबन्दीमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीसहित एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर पूर्ण रूपमा जलाइदिएका छन् । प्रदर्शनकारीले लालबन्दी नगरपालिका– ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पु¥याएका नगरपालिका कार्यालयले जनाएको छ । 

यस्तै हरिवन नगरपालिका कार्यालयमा प्रदर्शनकारीले दमकलसमेत जलाएका छन् । नगरप्रमुख रमेश बुढाथोकी (कमल) का अनुसार निर्माण सम्पन्न हुने क्रममा रहेको नगरपालिका भवनसहित भवनभित्रका सरसामग्री, कागजात, दमकल, ट्याक्टरलगायत आगजनी र तोडफोडबाट ध्वस्त भएका छन् । 

हरिवनमा वडा नं. ४, ८, १० र ११ का वडा कार्यालयसमेत आगजनीबाट खण्डहर बनेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिका कार्यालय र आगजनी भएका वडा कार्यालयको सेवा सुचारु हुन अझै केही दिन लाग्ने बताउनुभयो । नगरपालिका भवन, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, तीन वटा मोटरसाइकल र कार्यालयभित्रका सम्पूर्ण कागजात जलेको हरिपुर नगरपालिकाले तत्काल सेवा दिन नसक्ने जनाएको छ । 

हरिपुरका नगरप्रमुख गोपाल पजियारले अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाले सेवा सुचारु हुन केही दिन लाग्ने बताउनुभयो । आगजनीबाट सबैभन्दा बढी सवारीसाधन, कार्यालय भवन र कागजात जलेको बरहथवा नगरपालिकाले पनि अनिश्चितकालीन रूपमा सेवा बन्द गरेको छ । 

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं. ५, ६ र ७ को वडा कार्यालय, एक थान ग्रेडर, एक थान ट्याक्टर, एक थान ब्याक हु लोडर, एक थान टिप्पर, निजीसमेत गरी १३ थान मोटरसाइकल, तीन थान स्कुटर र एक थान रोलर आगजनीबाट नष्ट भएका छन् । सिटौलाका अनुसार सेवा सुचारु हुनेबारे तत्काल भन्न सक्ने अवस्था छैन । 

यस्तै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सेवा दिन चाहिने सामान सबै जलेकाले सेवा दिन गाह्रो परेको बताउनुभयो । उहाँले जेनजी पुस्ताका नाउँमा अराजक व्यक्ति प्रवेश गरेर गाउँपालिका कार्यालयमा आगजनी गरेर बर्बाद बनाएको बताउनुभयो । आगजनी र तोडफोडका कारण पालिकाबाट प्रवाह हुने सेवा ठप्प हुँदा अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । वडा कार्यालयमा समेत आगजनी हुँदा व्यक्तिगत घटना दर्तादेखि अन्य महत्वपूर्ण काम रोकिन पुगेका छन् । 

क्षति नपुगेका पालिका तथा निकायले भने आइतबारदेखि सेवा सुचारु गरेका छन् । प्रदर्शनकारीले पालिकाको कार्यालयबाहेक सदरमुकाम मलङ्गवासहित विभिन्न स्थानका सरकारी कार्यालय र सवारीसाधनमा पनि आगजनी गरेर क्षति पु¥याएका छन् ।  

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले धमाधम क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।