• ३० भदौ २०८२, सोमबार

गौर नगरपालिका आजदेखि सेवा सुचारू गर्दै

blog

गौर नगरपालिका कार्यालय गौर, रौतहट । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ ३० गते ।
रौतहटको गौर नगरपालिकाले सोमबारदेखि नियमित रुपमा सेवा प्रवाह सुचारु गर्ने जनाएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले नगरपालिका कार्यालय, सबै वडा कार्यालयलाई स्थगित सेवा आजदेखि पुनः सुचारु गर्न निर्देशन दिएको बताउनुभयो । जेनजीको आन्दोलनका कारण भदौ २४ देखि अवरुद्ध सेवा भदौ ३० गतेदेखि नियमित रुपमा सञ्चालन हुन लागेको हो ।

मुलुकको विषम परिस्थितिका कारण अवरुद्ध सेवा प्रवाह सुरु गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो । सोमबारदेखि नागरिकलाई आवश्यक सेवा दिनका लागि जुटिरहेको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।

जेनजीको आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गौर नगरपालिका कार्यालयमा आंशिक रुपमा तोडफोडसहित आगजनी गरेकोे थियो ।

प्रदर्शनकारीले फर्निचर, एलइडि टिभी, स्मार्ट टिभी, साउण्ड सिस्टम, सिसी टिभी लगायतका सामग्री जलाउनुको साथै पिकअप भ्यान, वारुण यन्त्र लगायतमा क्षति पुर्‍याएको थियो ।

कार्यालयको झ्यालको सिसा फुटाउनुको साथै प्रदर्शनकारीले गौर नगरपालिका कार्यालयद्वारा बनाइएको प्रहरी बिट, गौर घण्टाघरमा निर्माण गरिएको बीपीको शालिक समेत तोडफोड गरी जलाइएको छ ।

नगरप्रमुख साहका अनुसार प्रदर्शनकारीले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षणको  लागि राखिएको अधिकांश कागजात जलाएको छ । महालेखा परीक्षकको कार्यालयबाट खटी आएको टोलीले गौर नगरपालिकामा लेखा परीक्षण सुरुवात गरेको भए पनि सम्पन्न भएको थिएन । जेनजी आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति भएको नगरप्रमुख साहले बताउनुभयो  ।