नेवाः समुदायको सम्पूर्ण जानकारी समावेश गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ । नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ल्याएको सो ज्ञानकोशका दुर्गालाल श्रेष्ठ, कालु कुम्हाः, यज्ञमानपति वज्राचार्य, सुवर्णकेशरी चित्रकार र श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको छ । ज्ञानकोश ‘नेवाः म्हसीका, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं व प्याखं’ र ‘शिल्प, प्रविधि र ज्ञान’ गरी पाँच भागमा प्रकाशित छ । पाँच भागमा प्रकाशित ज्ञानकोशको पाँचै पुस्तक गरी करिब दुई हजार आठ सय पृष्ठ रहेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबारदेखि आयोजना भएको ‘तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’ उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको हो । “दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन् । यो सरकारले मुलुकमा लगानीको वातावरण सिर्जना गर्छ,” उहाँले भन्नुभयो । वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो । उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाको सन्धिखर्क नगरपालिका–७ मा मह उद्योग स्थापना भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०६३/६४ को बजेट वक्तव्यमार्फत सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रालि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रूपमा जीर्ण बन्दै गएको छ । अर्घाखाँचीमा मह उद्योग सञ्चालनका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा एक करोड पाँच लाखको लगानीमा भवन उपकरण खरिद गरे पनि सञ्चालनमा नआउँदै उद्योग जीर्ण अवस्थामा पुगेको हो । मह उत्पादनका लागि कम्पनीको संरचना बनाउन बजेट छुट्याए पनि अहिलेसम्म भवन मात्रै छ ।
सुती कपडा बुन्ने उद्योग बन्द भएपछि कपडा बुन्ने बनारसी तान सङ्कटमा परेका छन् । उद्योगको घर जीर्ण अवस्थामा पुगेको छ । भवनभित्र रहेका २२ वटा तान अलपत्र अवस्थामा कुनामा फालिएका छन् । तत्कालीन राजा वीरेन्द्रले जिल्ला भ्रमणका क्रममा मेलौली नगरपालिका–१, गोरखपुरमा सुती कपडा उद्योग लिमिटेड स्थापना गरी सर्वसाधारणलाई एक वर्षको कपडा बुन्ने तालिम दिने गरी प्रशिक्षकसमेत खटाउनुभएको थियो । उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत सरकारले लिएको थियो ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकमबारे अनुगमन गर्ने बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएकाले सबै स्थानीय तहमा अनुगमन गरिने उहाँले जानकारी गराउनुभएको हो ।
हरितालिका तिज पर्वमा साढे तीन लाखभन्दा धेरै श्रद्धालुले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार शुक्रबार बिहान ३ बजेदेखि साँझ ८ बजेसम्ममा चार लाखभन्दा धेरैले मन्दिर दर्शन गरेका हुन् । उहाँले दर्शनार्थी र तिजका व्रतालुलाई सहजै पूजाआराधना गर्ने प्रबन्धका लागि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबार साँझदेखि पूजाआराधनाका लागि व्यवस्थित गरिएको थियो । शुव्रmबार बिहानैदेखि श्रद्धालुका लागि चाहिने सम्पूर्ण सामग्रीसहित सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ ।
भिडियो प्ल्याटफर्म टिकटकले नेपालमा दर्ता गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र टिकटकका प्रतिनिधिबिच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा आधिकारिक रूपमा दर्ता गर्ने प्रस्ट पारेको हो । टिकटकले नेपाल सरकारका सबै सर्त मान्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखि सबै इन्टरनेट सेवा प्रदायकको नेटवर्कमा टिकटक खुलेको छ । भदौ ६ गतेको मन्त्रीपरिषद् बैठकले सरकारले जारी गरेका सबै सर्त मान्न तयार भएपछि ससर्त टिकटक खुलाउने निर्णय गरेको थियो । सञ्चारमन्त्रीको सचिवालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाबमोजिम सामाजिक सञ्जाल टिकटक मन्त्रालयमा सूचीकरण गर्ने र टिकटकको नेपालभित्र सम्पर्कविन्दुको व्यवस्था गर्ने समझदारी भएको छ ।
सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।
युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।