वैरुत, वैशाख २५ गते । इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार इजरायली सेनाले ती क्षेत्रहरूमा भीषण बमबारी र गोलाबारी गरेको थियो । लेबनानको अल–जदिद टेलिभिजनकाअनुसार गत अप्रिलको मध्यमा लागू भएको युद्धविरामयता इजरायलले पहिलोपटक राजधानी वैरुतको दक्षिणी उपनगरमा हवाई हमला गरेको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएअनुसार इजरायली युद्धपोतबाट ‘हारेत ह्रेक’ नगरपालिकास्थित एउटा आवासीय भवनमा तीनवटा मिसाइल प्रहार गरिएको थियो ।
उक्त आक्रमणबाट ठूलो भौतिक क्षति भएको र घटनास्थलमा तत्कालै एम्बुलेन्सहरू परिचालन गरिएको बताइएको छ । यसैबीच, सशस्त्र समूह हेजबुल्लाहले इजरायली सैन्य सवारी साधन र सैनिकहरूको भेलालाई लक्षित गरी जवाफी आक्रमण गरेको दाबी गरेको छ ।
गत अप्रिल १६ र १७ को मध्यरातदेखि दुई पक्षबीच युद्धविराम लागू भएपनि पछिल्लो समय हिंसात्मक गतिविधिहरू पुनः बढेका छन् । अमेरिकाको मध्यस्थतामा भएको उक्त सम्झौतामा कुनै पनि आक्रमणको विरुद्ध इजरायलले ‘आफ्नो रक्षाका लागि आवश्यक कदम चाल्ने’ अधिकार सुरक्षित रहने उल्लेख छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मार्च २ देखि मे ६ सम्मको अवधिमा भएका इजरायली आक्रमणहरूमा परी २ हजार ७ सय १५ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ३ सय ५३ जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल