• ३० भदौ २०८२, सोमबार

इलाका प्रहरी कार्यालय पुन:निर्माणमा जुटे स्थानीय

blog

प्रहरी चौकीमा रङरोगन गर्दै युवाहरू ।

छविलाल पाण्डे 

बुटवल, भदौ ३० गते । जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय मङ्गलापुर रूपन्देहीको पुन:निर्माणमा युवाहरू जुटेका छन् ।

तिलोत्तमा गाइजका युवाहरूले तिलोत्तमा नगरपालिकाको केवलानीमा रहेको इलाका प्रहरी कार्यालय मङ्गलापुरको मर्मत तथा पुनर्निर्माणमा जुटेका हुन् । तिलोत्तमा गाइजका संयोजक पुजन के.सी.ले प्रहरी कार्यालयलाई चाहिने लत्ताकपडा, फर्निचरका सरसामान, रङरोगन तथा भौतिक निर्माणसम्मको काम अगाडि बढाएको बताउनुभयो । 

जेनजीको प्रदर्शनका क्रममा सो प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण कार्यालयमा रहेको २१ जना प्रहरीको लत्ताकपडा, पोशाक, कागजपत्र, प्रहरीको गाडी, व्यक्तिगत तीन वटा मोटरसाइकल, भवनको झ्याल ढोका, इलेक्ट्रिक सामान, सिसिटिभी, कम्प्युटर, फर्निचर लगायतमा क्षति भएको थियो । 

अहिले भने तिलोत्तमा गाइजसँगै स्थानीय युवाहरू मिलेर सबै भत्किएको संरचना र रङरोगन सहित पुनर्निर्माणको काम अगाडि बढाइएको संयोजक के.सी.ले बताउनुभयो । 

केसीले धेरै ठाउँबाट निस्वार्थरूपमा सहयोग आएको र सबैको सहयोगले प्रहरी कार्यालय पुरानै अवस्थामा ल्याउन खटिरहेको बताउनुभयो ।