गजेन्द्र गुरुङ
खजुरा, भदौ ३० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
नेपालीहरुका ठुला चाडपर्वहरु दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सोमबारबाट कम्पनीको मुख्य शाखा कार्यालय परिसरभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिनुभयो ।
सूचना अधिकारी घिमिरेका अनुसार सोमबारबाट सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा सेवाग्राहीहरूले चामलमा छुट पाउने छन् । "दसैँ, तिहार तथा छठलक्षित सुपथ मूल्य पसलमा हामीले चामल मात्र राखेका छौँ, सेवाग्राहीहरूले यहाँबाट चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट पाउनुहुने छ," उहाँले भन्नुभयो।
नेपालगन्जमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा अरुवा मोटा, अरुवा मध्यम र स्टिम जिरा मसिनो चामल बिक्री वितरण हुने छ । अरुवा मोटाको प्रतिकिलो ६२ रुपियाँ, अरुवा मध्यमको प्रतिकिलो ६४ र स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ८८ रुपियाँ मूल्य रहेको छ । सेवाग्राहीहरूले हरेक चामल खरिदमा पाँच रुपियाँ प्रतिकिलो छुट पाउने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलका लागि दुई सय क्विन्टल चामल राखिएको छ ।