शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ३० गते । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।
पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । कालाखोला क्षेत्रमा यस अघि ठुलो पहिरो खसेको थियो । ठुलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको छ ।
कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।