• ८ पुस २०८२, मङ्गलबार

नेपाल भारत जमुनाहा नाका पूर्णरूपमा खुल्यो

blog

जमुनाहा नाका पूर्णरूपमा खोलिएपछि सहज बनेको आवागमन । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, भदौ ३० गते ।
यहाँस्थित नेपाल भारत सीमा नाका पूर्णरूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्णरूपमा खुलेको हो ।

जेनजी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रूपमा सञ्चालन गरिएको नेपाल भारत जमुनाहा सीमा नाका आजबाट पूर्णरूपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

आजबाट नाका पूर्णरूपमा खोलिएको जनाउँदै भारत रुपैडिहास्थित भारतीय सुरक्षा निकाय एसएसबीका निरीक्षक ऋतुराजले अब नाकामा कुनै प्रकारको समस्या नरहेको बताउनुभयो ।

उहाँले भारतबाट नेपाल जाने नेपाली यात्रुलाई सुरुबाटै जान दिइएको जनाउँदै तर अहिले आएर दुबै देशका नागरिकलाई पूर्णरूपमा आवागमन गर्न दिइएको बताउनुभयो ।

यसअघि भारतले बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिएको थियो, भने भारतीय नागरिकलाई नेपाल आउन दिएको थिएन ।

नेपालतर्फको अवस्था सामान्य भएर जनजीवन पुरानै लयमा फर्किसकेपछि जमुनाहा नाका पूर्णरूपमा सुचार गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाले पनि जनाएको छ ।

भारतबाट स्वदेश फर्किएका नेपालीहरूले अहिले आवागमनमा कुनै पनि समस्या नरहेको जनाउँदै परिचयपत्र हेरेर सहज रूपमा आवागमन गर्न दिइरहेको जनाएका छन् ।

देशभरि जेनजीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै भारतीय सुरक्षाकर्मीले सीमा नाका गत बुधबारबाट बन्द गरेका थिए ।

यता, नेपाली सुरक्षाकर्मीहरूले पनि भारतबाट आउने नेपालीलाई आउन दिए पनि भारतीय नागरिक र सवारी साधनको प्रवेशमा रोक लगाएका थिए ।

यसअघि प्रदर्शनकारीहरूले जमुनाहाको प्रहरी चेकपोस्टसहित भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।