दिपेश र लोकेन्द्रको महाकालीमा अन्त्येष्टि
इजरायलमा मारिएका लेकम गाउँपालिका–५, टकनाका दिपेशराज विष्ट र मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका लोकेन्द्रसिंह धामीका अनगिन्ती सपनाहरू इजरायलमा विलय भए पनि भौतिक शरीरको भने महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । हमास समूहको आक्रमणमा परी मारिएका विष्ट र धामीको शव इजरायलबाट नेपाल ल्याई गत सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । दिपेशको कञ्चनपुरस्थित महाकाली नदीमा र लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो । मृतक विष्ट र धामीको धार्मिक परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट दुवै जनाको शव काठमाडौँबाट गाउँसम्म ल्याइएको थियो ।
सभापति चयन नहुँदा समितिको काममा बाधा
सुदूरपश्चिम प्रदेश सभा विभिन्न समितिको सभापति चयन गर्न नसक्दा विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको छ । नेतृत्वकर्ता नै नभएका कारण ती समितिहरूले आवश्यकता अनुसार काम गर्न सकेका छैनन् । प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् तर दुई वटा थपेर छ समिति बनाउने गृहकार्य पनि भइरहेको छ । छ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच सहमति जुट्न सकेको छैन । समितिका सभापति नहुँदा काम गर्न समस्या भइरहेको सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । “समितिका सभापति चयन गर्न ढिलो भइरहेको छ,” उहाँले भन्नुभयो, “सभापति नहुँदा समितिहरूलाई नियमित काम गर्न तथा निर्देशन दिन समस्या भइरहेको छ ।”
करेन्ट लागेर किशोरीको मृत्यु
कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । भजनी नगरपालिका –२ पल्टुपुरकी १३ वर्षीया सुस्मा चौधरीको ज्यान गएको हो ।
छोराद्वारा बुबाको हत्या
कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लाइकपुरका गणेश चौधरीले आफ्नो बुबा हिरासिंह चौधरीको हत्या गरेका हुन् ।
डल्फिन क्षेत्रबाट अजिङ्गरको उद्धार
कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ ।
भूकम्प पीडितको चर्किएकै घरमा बास
बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् ।
सुत्केरी गराउन समस्या
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसूति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगबाट निर्माण गरिएका यस्ता गृहबाट अझै सेवा सुचारु हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–१ र २ अम्कोट र बह्मतोलाको बिच पाल्नेढोरमा निर्माण गरिएको प्रसू्ति गृहबाट सेवा नियमित नहुँदा सुत्केरी गराउँन समस्या हुने गरेको बह्मतोलाका स्थानीय महिला जाल्पादेवी थापाले बताउनुभयो ।
पुनः ब्युँतिन थाल्यो छाउप्रथा
बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्युँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ । अचेल यहाँका महिला पुनः छाउगोठमा बस्न थालेका छन् । भत्काइएका छाउगोठ पुनर्निर्माण गरिएका छन् । बूढीगङ्गा नगरपालिका–१० का स्थानीय पद्मा विकले भन्नुभयो, “महिनावारी भएको बेलामा घरभित्र बस्दा धामीझाँक्री (देउता) रिसाउन थालेपछि गाउँमा फेरि छाउप्रथा ब्युँतिँदै गएको छ ।”
‘प्रगाढ सम्बन्धका साथ विकासका लागि अघि बढ्छौं’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश विकासका लागि हिजोभन्दा अझ प्रगाढ सम्बन्धका साथ अघि बढ्ने बताउनुभएको छ ।