• १२ साउन २०८१, शनिबार

भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या

blog

कोल्टी आधारभूत अस्पताल । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, जेठ २६ गते । बाजुराको कोल्टी आधारभूत अस्पतालमा आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ ।

यहाँका स्थानीयको माग अनुसार २०८० मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पताल सञ्चालनमा ल्याएपनि सोही  अनुसारको भौतिक पूर्वाधार नहुँदा बिरामीको सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।

उपचारका लागि आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पताल बाजुराका मेडिकल अधिकृत प्रतीक न्यौपानेले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “दुर्गम ठाउँका स्थानीयलाई सेवा दिने गरी यहाँ आधारभूत अस्पताल सञ्चालन भए पनि सोही अनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीहरूलाई सेवा दिन समस्या भएको छ ।”

यहाँ आएका कतिपय बिरामीलाई यतै निको पार्ने सीप र क्षमता भए पनि सोही अनुसारको स्वास्थ्य सामग्रीको पहुँच नहुँदा रिफर गर्नु परेको डा. न्यौपानेले भन्नुभयो ।

पहिला स्वास्थ्य चौकीको रूपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालनमा आएको हो ।

दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको निकै अभाव छ  ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई पछिल्लो समय आधारभूत अस्पतालको रूपमा सञ्चालन गरेसँगै भौतिक पूर्वाधार र दक्ष जनशक्तिको पनि अभाव हुँदै गएको हो ।  

पुरानो तथा जीर्ण बन्दै गएका स्वास्थ्य केन्द्रका भवनमा सेवा प्रवाह गर्दै आएको छ । पुरानो भवनका कोठा धेरै साना छन् । यहाँ बिरामीलाई भर्ना गर्ने ओपिडी कक्ष तथा अप्रेसन थ्रेटर छैन ।

सघन उपचार गर्नुपर्ने बिरामीहरूलाई यहाँ व्यवस्थित गर्ने कक्ष नहुँदा बाहिर रिफर गर्नु परेको डा. न्यौपानेले बताउनुभयो ।

बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा र मुगु, जुम्ला र हुम्ला समेतका बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।

कोल्टीमा स्वास्थ्य नहुँदा पहिला यहाँका स्थानीयले सामान्य बिरामी हुँदा पनि दुई चार दिन हिँडेर उपचार गर्न मार्तडी जानु पर्दथ्यो  ।

आँखा, कान र दाँतको उपचारका लागि धनगढी, नेपालगन्ज र काठमाडौँ लगायतका सुविधा सम्पन्न अस्पतालमा जानु पदर्थ्यो ।

यहाँका स्थानीयको माग अनुसार कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेपनि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा बिरामीलाई उपचार गर्न समस्या झल्दै आउनु परेको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुढीनन्दा नगरपालिकाका बिरामीहरूलाई मात्र भएता केही समस्या थिएन । यहाँ अन्य पालिका र छिमेकी जिल्ला मुगु र हुम्लाबाट धेरै बिरामी आउने गरेकाले ती बिरामीहरूको व्यवस्थापनमा समस्या भएको छ ।’’

महिला तथा बालकालिकाहरु लागि अक्सिजन रक्त सञ्चार अति आवश्यक हुन्छ । यस्तो सेवा अस्पतालमा मात्र उपलब्ध हुने गएकाले कोल्टी आधारभूत अस्पताललाई पनि अस्पतालको रूपमा सञ्चालन गर्नुपर्ने शाहीले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा यस कोल्टी आधारभूत अस्पतालले  झण्डै पाँच सय भन्दाबढी गर्भवती महिलालाई सुत्केरी गराउन सफल भएको छ ।

कोल्टी आधारभूत अस्पताल तिनवटा जिल्लाका स्थानीयहरूको आशा र भरोसाको केन्द्र भएकोले यसलाई चाँडै अस्पतालको रूपमा विस्तार गरी चाहिने आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थाका लागि प्रदेश सरकारको सहयोगको आवश्यक रहेको शाहीले बताउनुभयो ।