• ११ मंसिर २०८१, मङ्गलबार

चोरी शिकारी नियन्त्रणमा कार्यदल परिचालन हुने

blog

कार्यदल परिचालन अभिमुखिकरण कार्यक्रममा चोरी शिकारी नियन्त्रण कार्यदलमा रहेर काम गर्दाका अनुभव सुनाउदै संरक्षणकर्मी । तस्विरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ २६ गते । नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र तथा विश्व सिमसार क्षेत्र घोडाघोडीको जैविक विविधता संरक्षणका लागि चोरी शिकारी नियन्त्रणका लागि  कार्यदल परिचालन गरिने भएको छ  ।

सिमसार क्षेत्रमा अनाधिकृतरुपमा माछा, कछुवा, चराको चोरी शिकारी बढ्दै जान थालेपछि कार्यदल सक्रिय हुने भएको हो । केही बर्षअघि तराई भूपरिधि कार्यक्रम –ताल) को सहयोगमा घोडाघोडी सिमसार क्षेत्रमा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत चोरी शिकारी नियन्त्रण कार्यदल गठन गरी काम गरिए पनि स्रोत साधनको अभावले कार्यदल निस्क्रिय थियो ।

शनिबार घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा हुने चोरी शिकारी नियन्त्रणका लागि  सरोकारवालाविच अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोग तथा चरा संरक्षण नेटवर्कको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा विगतमा चोरी शिकारी कार्यदलमा रहेर काम गर्दाका अनुभव सुनाउदै चोरी शिकारी नियन्त्रणका लागि सुरक्षा मुख्य चुनौती रहेको कार्यदलका सदस्यहरुको भनाइ छ ।  

बागेश्वरी सामुदायिक वन उपभोक्ता समुह चोरी शिकारी नियन्त्रण कार्यदलका संयोजक धर्मराज गिरीले घोडाघोडी क्षेत्रमा माछा, कछुवा, चराको बढी चोरी शिकारी हुने बताउँदै नियन्त्रणका लागि विगतमा आफूहरुले काम गरेको अनुभव सुनाउनुभयो । 

विगतमा घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ वटा सामुदायिक वनमा चोरी शिकारी नियन्त्रण कार्यदल गठन गरिए पनि केही सामुदायिक वन बाहेक धेरैमा कार्यदलले काम गर्न नसकेको घोडाघोडी संरक्षण तथा जनजागरण मञ्का अध्यक्ष हेमबहादुर बमले बताउनुभयो ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष घनश्याम ओझाले घोडाघोडी सिमसार क्षेत्रको जैविक विविधता जोगाउनु सबैको कर्तब्य रहेको उल्लेख गर्नुभयो ।

घोडाघोडी ताल सन् २००३ मा रामसार सुचिमा सूचिकृत भएको हो । तालको कूल क्षेत्रफल २५ सय ६३ हेक्टर रहेको छ । रामसार सूचीमा सूचीकृत हुँदा तालको क्षेत्रमा ठुला तर कम गहिरो ताल समेत गरेर ठूला स–साना गरी २० वटा ताल तलैयाहरुलाई समेटेको छ । यहाँ संकटापन्न प्रजातिहरु जस्तै कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारीहरु पनि यहाँ पाइन्छन् । तालमा ४५० प्रजाति वनस्पति, २९ प्रजाति माछा, ३२ प्रजाति पुतली, एक प्रजाति गोही, ७ प्रजाति सरिसृप, ३८० प्रजाति रैथाने र घुमन्ते चराहरु रहेको उल्लेख गरिएको छ । 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले संरक्षणका नाममा संरक्षणले मात्र पनि जैविक विविधताको संरक्षण नहुने बताउदै संरक्षणसंगै उपयोगितालाई पनि जोड दिन थालिएको बताउनुभयो ।