तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ ।
जनप्रतिनिधिका लोकप्रिय निर्णय
शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।
विजयनगरमा पुनः एमाले उम्मेदवारको विजय
नारद कोहारतौलिहवा, जेठ ७ गते । कपिलबस्तुको विजयनगर गाँउपालिकामा नेकपा (एमाले) का अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी चौधरी पुनः दोहोरिनुभएको छ । स्थानिय तह निर्वाचन २०७४ मा समेत उहाँहरु एमालेबाट निर्वाचित हुनुहुन्थ्यो । अध्यक्षमा एमालेका उम्मेदवार थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्षमा चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९ मत प्राप्त गर्नुभयो । सात वटा वडा रहेको गाउँपालिकामा ६ वटामा एमाले र एकमा जसपाले वडाध्यक्ष जितेको छ ।
निर्वाचनपछि घर फर्किए म्यादी प्रहरी
नारद कोहारतौलिहवा, जेठ ७ गते । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई एक कार्यक्रमका वीच विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ९२३ म्यादी प्रहरीको सामूहिक बिदाई गरिएको हो ।स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नमा म्यादी प्रहरीको महत्वपूर्ण भुमिका रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत उहाँले विश्वास दिलाउनुभयो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनुभयो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेको छ । म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता र पोशाक भत्ता बैंक खातामार्फत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका पाण्डेय विजयी
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा विजयी हुनुभएको छ । नेकपा एमालेको विरासत तोड्दै कांग्रेसका नगरसभापति समेत रहनुभएको पाण्डेय विजयी हुनुभएको हो ।
नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ ७ गते । बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आभार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर पदमा निर्वाचित भएपछि आफ्ना योजनाको बारेमा संक्षिप्त कुराकानी गर्दै आफूलाई विजयी बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नवनिर्वाचित मेयर पाण्डेयले बुटवल नगरपालिका भित्रै सबै राजनीतिक दल र संघ संस्थाहरुको लागि छुट्टै कक्ष निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘मैले नगरपालिकामा राजनीतिक दलहरु र सामाजिक तथा व्यवसायिक संघ संस्थाहरुको लागि छुट्टै कक्ष बनाउने छु’ उहाँले भन्नुभयो– ‘त्यहाँ सबै आउनुहुनेछ, बुटवललाई कस्तो बनाउने सुझाव दिनुहुनेछ ।’ सबैको सुझावलाई समेटेर अगाडि बढने प्रतिवद्धता उहाँले दोहो¥याउनुभयो । त्यस्तै, ईतिहासलाई जिवन्त बनाउन बुटवल नगरपालिकाभित्र वीपी, पुष्पलाल र बुटवलका पूर्वमेयर सूर्यप्रसाद प्रधानको शालिक बनाउने बताउनुभयो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क–चिडियाखोला सडकलाई व्यवस्थापन गर्न पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । त्यस्तै, ज्योतिनगर, लक्ष्मीनगर पहिरोको समस्या समाधानका लागि तत्काल पहल थाल्ने प्रतिवद्धता पनि जनाउनुभयो । तिनाउ–दावन कोरिडोरबाट विस्थापित भएकालाई व्यवस्थापन र मोतिपुर औद्योगिक क्षेत्रको समस्या समाधान पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । बुटवलको खानेपानी समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।
चन्द्रकोटले स्वास्थ्य बीमामा र रुरुक्षेत्रले विद्युत महशुलमा छुट दिने
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रका विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने पहिलो निर्णय गरेको जानकारी दिनुभयो ।
नरैनापुरमा जसपाका शाह बिजयी
बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद शाह बिजयी हुनुभएको छ ।
काँग्रेस, एमालेबीच प्रतिस्पर्धा
लुम्बिनी प्रदेशमा सार्वजनिक नतिजाअनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
गुल्मीका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ
गुल्मीमा नवनिर्वाचित जनप्रतिधिहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार रेसुंगा नगरपालिकाको सभाहलमा नव निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
कृष्णनगर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
नारद कोहारतौलिहवा, जेठ ६ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा रजतप्रताप शाह र उपमेयरमा कांग्रेसकै आरती चौधरी निर्वाचित हुनुभएको हो ।कृष्णनगरको मेयरमा निर्वाचित शाहले राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई १ हजार ४९४ मतले पराजित गर्नुभयो । शाहले ५ हजार ६०६ मत ल्याउँदा राप्रपाका रजौरीयाले ४ हजार ११२ मत प्राप्त गर्नुभएको हो । निर्वाचित भएका शाह २०७४ को निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुखमा विजयी हुनुभएको थियो । शाह केही महिना पहिले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।उपप्रमुखमा निर्वाचित कांग्रेसकी चौधरीले ५ हजार ६९१ मत ल्याउदा उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)की आरती सिंह यादवले ३ हजार २८२ मत प्राप्त गर्नुभएको हो । कृष्णनगर नगरपालिकामा १२ वटा वडा छन् । जसमध्ये कांग्रेसले तीन, एमाले तीन, जसपाले दुई, माओवादीले दुई, राप्रपा र बहुजन शक्ति पार्टी एक–एक वडामा विजयी भएका छन् ।
२०७४ मा पराजित खाँ अहिले विजयी
गोविन्द शर्माबाँके, जेठ ६ गते । बाँकेको जानकी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित नेपाली काङ्ग्रेसका छब्बन खाँ फराकिलो मतान्तरले अहिले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खाँ ६ हजार ६५३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । खाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का हिमांशु यादवले ४ हजार ७९७ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार ९३८ मत प्राप्त गर्नुभयो । खाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका रामनिवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । यादव तीन हजार ८३ मतले विजयी हुँदा खाँले तीन हजार ९ मत पाउनुभएको थियो । अध्यक्ष यादवको निधन भएपछि एमालेले उहाँका ३१ बर्षिय छोरा हिमांशुलाई उम्मेदवार बनाएको हो ।यसैगरी उपाध्यक्षमा पनि काङ्ग्रेसका रामप्यारी यादव ६ हजार ९०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी पूर्व कार्यवाहक अध्यक्ष एमालेका भूमिसरा धितालले तीन हजार ४५६ र माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार २२९ मत पाउनुभयो । जानकीका ६ वडामध्ये वडा नम्बर १ र ३ मा जसपा, २ मा माओवादी केन्द्र र ४,५,६ मा काङ्ग्रेस विजयी भएको छ ।
गुल्मीमा पालिका प्रमुखले लिए शपथ
जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
शिवराजको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी
कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा राप्रपाका अजय थापा विजयी हुनुभएको छ । थापाले साात हजार ६०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली काँग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता
तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन विजयी
जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेस विजयी
रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले सात हजार २६८ मत ल्याए पराजित हुनुभयो ।
शपथ लिँदै निर्वाचित जनप्रतिनिधि
लुम्बिनी प्रदेशको गत शुक्रबार सम्पन्न स्थानीय तहको मत परिणाम सबै स्थानको आइपुगेको छैन । बिहीबारसम्म परिणाम आइसकेका कतिपय स्थानमा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्षले शपथग्रहण लिन थालेका छन् ।
खोलामा डुबेर एक जनाको मृत्यू
रेखीराम रानापाल्पा, जेठ ५ गते । तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँशो ३ बजेतिर तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दै पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो । साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
कपिलवस्तुको मायादेवी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका वलिउद्दिन मुसलमान र उपाध्यक्षमा सरस्वती यादव निर्वाचित हुनुभएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
नारद कोहारतौलिहवा, जेठ ५ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभयो । त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको छ । मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गर्नुभयो । एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा नं. १, २ र ८ गरी तीनवटा वडा जितेको छ । त्यस्तै कांग्रेसले वडा नं. ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । गाउँपालिकामा आठ वटा वडा छ । २०७४ को निर्वाचनमा यशोधरा गाउँपालिका काँग्रेसले जितेको थियो ।
प्यूठानमा काँग्रेस र माओवादीकाे तीन/तीन, एमालेकाे दुई र जनमाेर्चाकाे एक पालिकामा विजय
प्यूठानका नौ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दस वडासहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ।
गुल्मीमा काँग्रेस ५, माओवादी ४ र एमालेलाई ३ प्रमुख
तिलाचन पाण्डेतम्घास, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गुल्मीका २ स्थानीय तहमा पुरानै अनुहार निर्वाचित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका अध्यक्षहरु पुनःनिर्वाचित हुनुभएको हो । धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भुपाल पोखरेल र कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पोखरेलले काँग्रेसका महेन्द्र भण्डारीलाई एक हजार ८२८ मतले पराजित गर्नुभएको हो । थापाले नेकपा (एमाले) का रामजी ढकाललाई १३३ मतले पराजित गर्नुभयो । यस्तै, जिल्लाको मदाने गाउँपालिकामा एमालेकी सरीता खड्का पुनः उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले माओवादी केन्द्रका बेगम चन्दलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । खडकाले चन्दलाई ३५६ मतले पराजित गर्नुभयो । गुल्मीको १२ स्थानीय तहमध्ये ५ स्थानीय तहमा काँग्रेस, ४ तहमा माओवादी केन्द्र र ३ स्थानीय तहमा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ ।