• १० मंसिर २०८१, सोमबार

पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय

blog

छविलाल पाण्डे 

बुटवल, असोज १७ गते । दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरू पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लब र विश्व शान्ति युवा क्लबले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ सुरु गरेका हुन् । 

दशैं तिहारको समयमा युवाहरूलाई रमाइलो दिन र हराउँदै गएको संस्कृति संरक्षण गर्न पिङ हालिएको लुम्बिनी व्वाइज युवा क्लबका सदस्य लक्ष्मण भट्टराईले बताउनुभयो । 

“गाउँघरमा दशैं सुरु भइसक्यो, वातावरण पनि दशैंको माहौलमा रम्न थालिसकेको छ । दशैंको रमझम सुरु भएसँगै गाउँघरमा लिङ्गे पिङ खेल्दै रमाउने बेला भइसक्यो । तर सैनामैनाका अरू क्षेत्रमा लिङ्गे पिङ थापेको कहीँ कतै देखिँदैन” क्लबका सदस्यहरूको भनाइ छ । 

दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । यही ओझेलमा परेको परम्परा संरक्षण गर्ने अभियान चलेको हो । अभियानमा सैनामैना सालझण्डी क्षेत्रका युवाहरू अगाडि देखिएका छन् । पुरानो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने धारणाले अभियान सुरु गरिएको उहाँहरूको बुझाइ छ । बाबु बाजेको पालादेखि सुरु भएको परम्परा र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले सालझण्डीमा दुई वटा युवा क्लबले यो वर्ष पहिलो पटक पिङ हालेका छन् । 

सालझण्डीकै झिमझिमेमा समावेशी युवा क्लबले यो वर्ष पहिलो पटक लिङ्गे पिङ हालेको छ । क्लबका पदाधिकारीहरू पनि पिङ संस्कृति संरक्षण गर्ने प्रयास थालेको बताएका छन् । क्लबका अध्यक्ष मदन रेग्मीले गाउँघरमा रमाइलो गर्ने माध्यम नै नहुँदा युवाहरू बरालिने डर भएको र पुरानो संस्कृति पनि संरक्षण गर्ने उद्देश्यले यो वर्ष पिङ हालेको बताउनुभयो । 

रेग्मीका अनुसार वर्षमा एक पटक धर्ती छाड्नै पर्ने मान्यता रहेकाले पनि पुरानो संस्कृति संरक्षण गर्न र लोप हुनबाट जोगाउन पिङ हालिएको हो ।