• ६ कात्तिक २०८१, मङ्गलबार

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

कपिलवस्तुको तौलिहवामा उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, असोज १५ गते। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो। 

कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।

कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।

निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो। 

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली, प्रहरी उपरीक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भूमीराम पोख्रेललगायत सहभागी हुनुहुन्थ्यो।