कर्णालीका दुई मन्त्रीको राजीनामा
मुना हमालसुर्खेत, भदौ ११ गते। कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनुभएको हो। माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले राजीनामा दिनु भएको हो। माओवादी केन्द्रले अब उहाँहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा हुनुहुन्छ। कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।
सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड
महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
एमालेमा निर्वाचन परिचालन सचिवालय गठन
नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको बैठकले सचिवालय गठन गरेको हो ।
नागरिकता विधेयक राष्ट्रियसभामा पेश
प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।
पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ ।
सबैको जित हुनेगरी सहमति : सहमहामन्त्री आङदेम्वे
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताउनुभएको छ । सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न दल त्याग गरी नेता कार्यकर्ता एमालेमा प्रवेश
विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो । पार्टी मुख्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।
भदौ २२ भित्र उम्मेदवार सूची सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन
नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो । बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिएको हो ।
आगामी निर्वाचनमा बलियो गठबन्धन हुन्छ : दाहाल
कपिल ज्ञवालीसिद्धार्थनगर, भदौ ११ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताउनुभएको छ। स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उहाँको भनाइ छ। पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो। ‘‘गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्राे निर्वाचन प्रक्रिया (संविधानसभापछि) को सुरु गर्यो। यसलाई ठूलो सफलता मान्नुहोला, गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको हो’’, दाहालले भन्नुभयो। स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उहाँको भनाइ छ। उहाँले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो।