• १२ असार २०८१, बुधबार

सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड

blog

मधेस प्रदेशसभा सचिवालयको सभाकक्षमा गरिएको कार्यक्रममा सहभागिहरु, तस्विर – धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, भदौ १२ गते । महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।

नेपाली काँग्रेसका सचेतक चित्रलेखा यादवले हरेक क्षेत्रमा महिला पनि पुरुषसरह राजनीति गर्न सक्षम भएको बताउनुभएको छ । 

यस्तै, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले नेपाली महिला हरेक आन्दोलनका सहयात्री भएकाले महिलाले प्रत्येक निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य अंजना विशंखेले राजनीतिमा अहिले पनि ‘मिसन पोल्टिक्स’भन्दा पावर पोल्टिक्स हावी भएको भन्दै पावर पोल्टिक्समा अभ्यस्त महिला मात्र संसदीय प्रक्रियामा आउन सकेको बताउनुभयो । 

कार्यक्रममा लोसपाका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले राजनीतिमा महिलाको उपस्थिति प्रतिनिधिमूलक मात्र भएको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सरस्वती चौधरीले प्रदेशसभामा समानुपातिकबाट प्रदेशसभा सदस्य चुनिनुभएका महिलालाई दोस्रो दर्जाको सांसद जस्तो व्यवहार हुने गरेको भन्दै प्रत्यक्ष र समानुपातिक दुवैको समान व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । 

महिला, बालबालिका, सामाजिक न्याय समिति मधेस प्रदेशका सभापति जैनुल राईनको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र अधिवक्ता रेखा झाले संसदमा महिलाको सहभागिताको विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो ।