‘हिमवत्खण्ड ऋषिमुनिको पवित्र तपोभूमि हो’
चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै छ ।
सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी
सोलुखुम्बु, चैत १ गते । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो ।ओपिडीका बिरामीलाई पनि अक्सिजन अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भन्नुभयो । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताउनुभयो । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ । भवन सुविधासम्पन्न, जनशक्ति अभावसाना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो ।विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
मनाइयो होली
‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला...’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो ।
टरिगाउँमा आउनै छाड्यो विमान
विसं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा पछिल्ला दुई महिनादेखि उडान रोकिएको छ ।
भेडाबाख्रालाई महामारीविरुद्ध खोप
हुम्लामा १० हजारभन्दा बढी भेडाबाख्रालाई खोप लगाइएको छ । भेडाबाख्रामा लाग्ने महामारी (पिपिआर) रोगविरुद्ध खोप लगाइएको हो ।
पर्खाल नहुँदा सुरक्षा चुनौती
हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
यस वर्षको महामूर्ख बन्ने पालो कस्को.. ?
धनुषा, चैत १ गते । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप० जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी ९होली० महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् ९मिनाप० यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।मिथिला ना्यय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते ९बिहीबार० र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताउनुभयो । पहिलो दिन होरी अर्थात् फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताउनुभयो ।महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।यस्तो छ सम्मेलनको इतिहासमहामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगन्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा बताउनुहुन्छ, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो ‘कन्सेप्ट’ आएको थियो ।” समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले ठूलो भूमिका खेल्ने गर्छ झाले थप्नुभयो । वीरगन्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा ९एमाले०का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा [एमाले]ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।यसरी छनोट गरिन्छ महामूर्ख ?महामूर्खको छनोट कसरी हुन्छ भन्ने विषय धेरैको उत्सुकताको विषय हुनसक्छ । यस कार्यका लागि धेरै मेहेनत गर्नुपर्छ, धेरै दिमाग खियाउनुपर्छ आयोजकहरू बताउनुहुन्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउनुहुन्छ, “महामूर्ख छनोटका लागि तयारी आयोजनासँग खोजी सुरू भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कम्मर कसेर लागेको हुन्छ ।”जनकपुरधामको स्थानीय पत्रिकाहरू एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाउँछन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य राजेश कर्ण भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन । फेरि मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढ्ने गर्छ । सामान्यतः धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ रु तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपालि म महामूर्ख बनु ।” विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि हो, प्रेमले मानिस हरेकथोक अर्थात् विष पनि पिउने गरेको इतिहास छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”यस वर्ष को बन्लान् महामूर्ख ?मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।”
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, चैत १ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
क्रसिङपछि चिनी उद्योग बन्द
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।
उखु अभावमै क्रसिङ सम्पन्न
उखु अभाव र मौसमी प्रतिकूलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ । एभरेस्टले बिहीबार बिहानदेखि चालु सत्र २०८१/८२ को क्रसिङ सम्पन्न गरेको जनाएको छ ।
हातेकागज उद्योग सङ्कटमा
बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग बन्द भएका छन् ।
अनुगमन अभावमा बढ्दै सहकारी समस्या
स्थानीय तहले प्रभावकारी नियमन र अनुगमन नसक्दा सहकारी संस्थामा समस्या देखिन थालेको छ । गाउँपालिका र प्रदेश सरकारमातहतमा रहेका सहकारी संस्थामा नियमित अनुगमन र नियमन हुन नसक्दा पाल्पाका दुई वटा सहकारीको समस्या बाहिर आएको छ ।
राजस्वको स्रोत खोज्दै प्रदेश सरकार
बागमती प्रदेश सरकारले राजस्वमा सुधार गर्न स्रोतको खोजी गर्न थालेको छ । देश सङ्घीयतामा गएर प्रदेश संरचना निर्माण भएको सात वर्षपछि प्रदेश सरकारले राजस्वमा सुधार गर्न स्रोतको खोजी गर्न थालेको हो ।
एबिसीमा प्रतिउडान दस हजार
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) मा हेलिकोप्टर उडान गर्दा प्रतिउडान १० हजार रुपियाँ शुल्क तिर्नुपर्ने भएको छ । पालिकाको वडा नम्बर ११ मा पर्ने एबिसीमा अहिले दुई हेलिप्याड छन् ।
कांग्रेस क्रियाशील सदस्यता वितरण तीव्र
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।
राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी
राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।
ग्वार्को ‘ओभरपास’ मा लापरबाही
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ को सातदोबाटोतर्फको पर्खाल भत्काइएको छ । सम्बन्धित निकायको आवश्यक सुपरिवेक्षण अभाव र ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्खाल भत्काउनुपरेको हो ।
मिर्गौला रोगबाट बच्न जनचेतनामा लगानी
स्वास्थ्यमा जटिल अवस्था भएपछि मात्रै स्वास्थ्य संस्था जाने गर्दा नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला फेल हुने गरेको छ ।
गण्डकी कोरिडोरले बदल्यो जीवनचर्या
कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो ।
हेटौँडामा शङ्कास्पद वस्तु फेला
बागमती प्रदेशको राजधानी हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ मा सितलमहलचोक नजिक गरुडपथ जाने भित्रीसडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको हो ।
भिरबाट लडेर बृद्धाको मृत्यु
अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।
करेन्ट लागेर एकको मृत्यु
मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ मनहरी गाउँपालिका –६ नयाँबस्ती बस्ने ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
हसौरामा छुट जग्गा नापजाँचको काम अघि बढाइने
मालपोत कार्यालय नवलपुरले कावासोती नगरपालिका –४ को छुट जग्गा नापजाँचको काम तत्काल अघि बढाउने जनाएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले तत्काल छुट जग्गा नापजाँचको काम अघि बढाइने बताउनुभएको हो ।