बर्दीबास समाचारदाता
बर्दीबास, चैत १ गते । उखु अभाव र मौसमी प्रतिकूलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ । एभरेस्टले बिहीबार बिहानदेखि चालु सत्र २०८१/८२ को क्रसिङ सम्पन्न गरेको जनाएको छ ।
यस पटक मिल सञ्चालन भएको ९२ दिनपछि बन्द भएको हो । यसबिच छ दिन ‘नो केन’ र दुई दिन सरसफाइका लागि काम रोकिँदा खुद क्रसिङ भने ८४ दिन मात्र हुन सक्यो । यसमा पनि पटक पटक उखु अभाव हुँदा २५ दिन क्षमता घटाएर क्रसिङ गर्नु परेको एभरेस्टले जनाएको छ । उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस पटक न्यूनतम ३५ लाख क्विन्टल उखु क्रसिङ गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्यसहित मङ्सिर २६ देखि क्रसिङ सुरु भएको थियो । पर्याप्त उखु नपाउँदा ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र उखु क्रसिङ गर्न सकिएको उहाँले बताउनुभयो । यो परिणाम लक्ष्यको करिब ४ लाख क्विन्टलले कम हो ।
यस वर्ष चिनीको ‘रिकभरी’ सरदर ८.५ देखि नौ प्रतिशत रहेको छ । अहिले उखुको रस चिनी बन्ने प्रक्रियामा रहेकाले पाँच दिनपछि मात्र चिनी उत्पादनबारे जानकारी हुने एभरेस्टले जनाएको छ । खरिद गरिएका उखुमध्ये फागुन २५ सम्म ३० लाख ८० हजार क्विन्टल उखुको एक अर्ब ७० करोड ५४ हजार रुपियाँ किसानको खातामार्फत भुक्तानी गरिएको वित्तीय महाप्रबन्धक ठाकुरले बताउनुभयो । पछि आएका उखुको पनि यसै साताभित्र भुक्तानी गरिने उहाँको भनाइ छ । गत वर्षदेखि एभरेस्टले पाँच दिनभित्रै उखुको भुक्तानी दिन थालेकाले मिलप्रति किसानको भरोसा बढे पनि समुचित मूल्य नपाउँदा उखु किसान भने निराश देखिएका छन् । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारले भने कारखानाले दिँदै आएको साबिक ५४० रुपियाँमा २० रुपियाँ मात्र वृद्धि गरी प्रतिक्विन्टल ५६० रुपियाँ तोकेको छ । यो मूल्यप्रति किसान असन्तुष्ट छन् ।
यसको असर आगामी वर्षको उखु खेतीमा पर्ने हुँदा उखु अभाव तत्कालै समाधान हुने सङ्केत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा एभरेस्टले २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो ।