तिलाचन पाण्डे
तम्घास, चैत १ गते । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो । कालीगण्डकी कोरिडोर खुलेपछि उहाँले अब गाउँमै गएर होटल चलाउनु पर्छ भनेर कोरिडोरसँगै जोडिएको स्थानमा जग्गा खरिद गरी दुई करोड रुपियाँभन्दा बढीको लागतमा सुविधासम्पन्न पन्चासे होटल एन्ड लज सञ्चालन गर्नुभयो । अहिले उहाँको होटल एन्ड लज आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ ।
पोखरा आएका पर्यटक कोरिडोर हुँदै बागलुङ, पर्वतको कुस्मा, मुक्तिनाथ र चीनको कोरला नाकासम्म पुग्छन् । यी ठाउँ विदेशी पर्यटकको पनि रोजाइमा पर्छन् । पन्चासेमा खाना खाने र रमाउने पर्यटकका कारण यहाँको व्यापार राम्रो छ । पर्यटकलाई लोकल कुखुरा, माछा र स्थानीय परिकार मन पर्ने भएकाले सोही अनुसारका परिकार आफूले बनाउने गरेको उहाँको भनाइ छ ।
कोरिडोरको बाटो खुलेपछि उहाँको व्यवसाय पनि राम्रो चलेको छ । कोरिडोरको बाटो कालोपत्रे हुँदै गरेकाले व्यवसाय अझ राम्रो हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । कोरिडोर खुलेपछि यस क्षेत्रको मुहारै परिवर्तन भएको वडा नम्बर १ हर्मिचौरमा ओम शिलाजी ग्यारेज सञ्चालन गर्दै आउनुभएका चतुर्भुज पाण्डेले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरका विष्णु पाण्डे कोरिडोरको बाटोले गर्दा धेरै सहज भएको बताउनुहुन्छ । व्यावसायिक रूपमा गाईपालनका साथै चिया, नास्ता पसल सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नो पसलमा करिब ३० लिटर दुध खपत हुने गरेको बताउनुभयो । बाँकी ५० लिटर दुध स्याङ्जाको मिर्मीमा लगेर बेच्ने गरेको उहाँको भनाइ छ । मिर्मीमा दुध डेरी रहेकाले मोटरसाइकलमा राखेर डेरीमा लगेर दुध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । कोरिडोरको बाटोले गर्दा यो सम्भव भएको उहाँको दाबी छ ।
यस्तै कालीगण्डकी–२, अर्बेनीका कृषक लक्ष्मीपति न्यौपानेले किवी खेती, सुन्तला र ताजा तरकारी उत्पादन गर्ने गरेकाले कोरिडोरले गर्दा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या नभएको बताउनुभयो । गाउँमै र मिर्मीमा केही उत्पादित वस्तु बिक्री भए पनि बाँकी रहेको कृषि उपज सहज रूपमा बुटवलसम्म पुर्याउन कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
चट्टानसहितको भिर चार वर्षपहिले नेपाली सेनाले बम विस्फोट गरी खोलेको ट्र्याकमा अहिले कालोपत्रे भइरहेको छ । रिडी–हर्मिचौर सडकखण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरण बाँकी रहेको कालीगण्डकी कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो । यो आयोजनाको लागत ६२ करोड ३६ लाख रुपियाँ रहेको छ ।
यस्तै हर्मिचौर–बलेवाखण्डको ४५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्यकालिका कन्स्ट्रक्सनले गरेको छ । कुल तीन अर्ब ३३ करोड लागतमा सम्पन्न हुने उक्त सडकको ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको र चालु आर्थिक वर्षमा कालोपत्रे सकिने खत्रीले बताउनुभयो । कार्यालय र निर्माण व्यवसायीबिच २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ ।