फडिन्द्र अधिकारी
लेखनाथ, चैत १ गते । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) मा हेलिकोप्टर उडान गर्दा प्रतिउडान १० हजार रुपियाँ शुल्क तिर्नुपर्ने भएको छ । पालिकाको वडा नम्बर ११ मा पर्ने एबिसीमा अहिले दुई हेलिप्याड छन् ।
पहिले एउटा मात्र हेलिप्याड रहेकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस आउँदा नयाँ हेलिप्याड बनाइएको थियो । अन्नपूर्णसहितका हिमाल नजिकैबाट देखिने अन्नपूर्ण आधार शिविरमा नेपालका विभिन्न हेलिकोप्टर कम्पनीले उडान गर्ने गरेका छन् ।
हेलिकोप्टर उडानलाई व्यवस्थित गर्न र करको दायरामा ल्याउन अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडानबारे २०७९ सालमा कार्यविधि बनाएको थियो । पालिकाले अहिले कार्यविधि संशोधन गरी फागुन १ गते राजपत्रमा प्रकाशन गरेको प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकामा सूचीकृत हुने हेलिकोप्टर कम्पनीले सूचीकरणका लागि पाँच हजार र प्रतिउडान १० हजार रुपियाँ राजस्व तिर्नु पर्छ । उद्धारका लागि हुने उडानको भने शुल्क तिर्नु नपर्ने कार्यविधिमा उल्लेख छ । सूचीकरण नभएका कम्पनीले उडान भर्न चाहेमा प्रतिउडान २० हजार रुपियाँ तिर्नुपर्ने छ ।
एबिसीमा हुने उडानलाई व्यवस्थित बनाउन पोखरा विमानस्थल र आधार शिविरमा समेत कर्मचारी खटाइने भएको छ । अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर कम्पनीलाई सूचीकरणका लागि तेस्रो पटक प्रकाशन गरेको सूचनाको म्याद बुधबार सकिएको छ । बुधबारसम्म चार वटा हेलिकोप्टर कम्पनीले पालिकासँग सम्झौता गरेका छन् । एबिसीमा उडानका लागि एयर डाइनेस्टी हेली सर्भिसेस प्रालि, अल्टिच्युड एयर प्रालि, हेली एभरेस्ट प्रालि र सिम्रिक एयरले सम्झौता गरेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने एबिसी पदयात्रा पर्यटनका लागि विश्वकै चर्चित र लोकप्रिय गन्तव्यसमेत हो । पालिका अध्यक्ष विष्णुबहादुर केसीले अब अनुमति नलिएका कम्पनीलाई आधार शिविरमा उडान भर्न नदिइने प्रस्ट पार्नुभयो ।
यसअघि कम्पनीहरूले असीमित उडान भरेकामा अब सूचीकरण र प्रतिउडान शुल्क तिरेर सीमित अर्थात् प्रतिदिन बढीमा १२ उडान मात्र गर्न दिने पालिकाको कार्यविधिमा उल्लेख छ । हेली उडानबाट प्रतिवर्ष डेढ करोडदेखि दुई करोड राजस्व सङ्कलन हुने अनुमान गरिएको प्रवक्ता गुरुङले उल्लेख गर्नुभयो ।