• १ चैत २०८१, शुक्रबार

सुशासनका लागि उत्तरदायी प्रशासन

blog

प्रत्येक समाजका आआफ्ना विशेषता छन् । समाज अनुसार सामाजिक मुद्दा र समस्या पनि फरक हुन्छन् । समाजमा हुने आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्तरीकरण, विभेद, अन्याय, विमति, विमेल आदिका कारण मानिसका सरोकार, प्र्राथमिकता र आवश्यकतामा फरक पर्छ । व्यक्ति, परिवार तथा विभिन्न सामाजिक एकाइ मिलेर एउटा समाज बनेको हुन्छ । व्यक्ति व्यक्तिका आफ्ना आवश्यकता वा मुद्दा मिलेर सामाजिक मुद्दा बन्ने हुन् । समाजको आफ्नै आवश्यकता, इतिहास र स्वभाव अनुसार मानिसका काम, पेसा, विचार, प्राथमिकता आदिका कारण उनीहरूमा सामाजिक स्तरीकरण हुँदै आएको हुन्छ । कुन पेसा वा आयका मानिसले कस्तो खालको जीवन निर्वाह गर्ने गरेका छन् त्यसले पनि स्तरीकरण वा सामाजिक विभेदलाई मलजल गरेको हुन्छ । समाजमा रहेको सहर–बजार, भूगोल–क्षेत्र, तह–तप्का, भाषा–शिक्षा, लवाइ–खवाइ एवं भौतिक वस्तुको प्रयोगको क्षमता  र तरिका आदिका कारण पनि मानिसमा विभेद हुने गरेको पाइन्छ । नेपाली समाज आधुनिकतातर्फ तीव्र गतिमा लम्किरहेको छ । 

विकसित युरोप र अमेरिकी समाजमा समेत सामाजिक स्तरीकरण र एक प्रकारको सामाजिक विभेद हुने गरेको छ । उनीहरूले आफ्नो समाजसम्बन्धी धारणामै माथिल्लो स्तर (अपर क्लास), मध्यम स्तर (मिडल क्लास) र न्यून स्तर (लोअर क्लास) भन्ने व्याख्या गर्दै आए । सामाजिक स्तरीकरणको मूल आधार पनि आर्थिक आधार नै हो भन्ने प्रमाणित हुन्छ । जर्मनका चर्चित दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) ले यही कारण समाजमा ‘हुँदा खाने र हुने खाने’ बिचको द्वन्द्व हुने उल्लेख गरे । आर्थिक असमानता र खाडलको न्यूनीकरण गर्न नै राज्यले सामाजिक न्यायमा आधारित आर्थिक अधिकार र अवसरबाट सबैलाई समेट्नुपर्ने धारणाको विकास भयो । 

नेपालमा पनि सन् १९९० को राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, समावेशीकरण, समता, न्याय र सहभागितासम्बन्धी धारणाले स्थान पायो । सन् २००६ को लोकतान्त्रिक आन्दोलन र सन् २०१५ को नयाँ संविधान निर्माण भएपछि त्यसले अझ व्यापक रूपमा औपचारिक तथा संवैधानिक हैसियत स्थापित भयो । मानिसका लागि पहिलो र आधारभूत अधिकार बाँच्ने अधिकार भएको कुरालाई सन् १९४५ को संयुक्त राष्ट्रसङ्घको बडापत्र, सन् १९४८ को मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, सन् १९६६ का नागरिक तथा राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्धले ग्यारेन्टी गरेका छन् । मानिसका बाँच्न पाउने, बोल्न पाउने जस्ता राजनीतिक अधिकार तथा बाँच्नका लागि आवश्यक हुने विभिन्न आर्थिक अधिकारको औपचाकिता दिने विश्व घटनामा सन् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्राम, सन् १७८९ को फ्रान्सेली क्रान्ति, सन् १७८९ को अमेरिकी संविधान जस्ता विश्व चर्चित घटना रहे । 

मानिसका आफ्नो उमेर, वर्ग, क्षेत्र, भूगोल, भाषा, धर्म, लिङ्ग आदिका आफ्नै खालका मुद्दा, समस्या, भोगाइ र सामाजिक आवश्यकता हुन्छन् । सामाजिक स्तरीकरण तथा विभेद एवं विभिन्न प्रकारका विभेद, पीडा र मुद्दाको समाधान गर्न मानिसका लागि विधिसम्मत राजनीतिक प्रणाली, संविधान–कानुन, लोकतन्त्र, सामाजिक न्याय, जननिर्वाचित सरकार, सुशासन र उत्तरदायी प्रशासन जस्ता कुराको आवश्यकता भएको हो । व्यक्ति र समाज हुनेबित्तिकै आफ्ना प्रकारका हित र आवश्यकता हुन्छन् । समाजमा अधिकार र साधन–स्रोतका लागि सामाजिक द्वन्द्व पनि हुँदै आएको हुन्छ । 

विकसित युरोप–अमेरिकाको इतिहास हेर्ने हो भने पनि त्यहाँ ठुला ठूला सामाजिक–राजनीतिक, आर्थिक–धार्मिक अनेक प्रकारका भयङ्कर हिंसा र द्वन्द्वबाटै समाज आजको अवस्थामा आइपुगेको हो । त्यस्ता द्वन्द्व र हिंसाको विधिसम्मत, शान्तिपूर्ण र तार्किक समाधानका लागि उनीहरूले लोकतान्त्रिक विधि र प्रणालीको विकास गर्दै आए । व्यक्ति र नागरिकको शासन प्रणालीमा अपनत्व र सहभागिताका लागि उनीहरूले विधिको शासन, सीमित सरकार, शक्ति पृथकीकरण, आवधिक निर्वाचन, स्वतन्त्र र सक्षम न्यायालयको विकास र विस्तार गरेका हुन् । 

नेपाली समाजले पनि त्यस्ता आधुनिक र अपरिहार्य विषय अनुभवबाट सिक्दै र अभ्यास गर्दै आएको देखिन्छ । सामाजिक, राजनीतिक र आर्थिक समस्या तथा मुद्दाको विधिसम्मत र शान्तिपूर्ण समाधान गरी द्वन्द्वलाई न्यूनीकरण गर्न एवं नागरिकको अपनत्व स्थापित गर्न शासनमा सहभागिताको मुद्दालाई स्वीकार गरियो । मानिसको समग्र विकासका लागि आधारभूत पक्षमा रहेको शिक्षालाई विश्वका सबै जसो सरकार र समाजले प्रत्येक नागरिकको न्यूनतम अधिकारका रूपमा व्याख्या गरी आए । शिक्षा र जागरणका कारण मानिसको सोच, विचार र क्षमतामा पनि व्यापक विकास र विस्तार भयो । 

मानिसमा महिला र पुरुष मात्र हुन्छन् भन्ने स्थापित सामाजिक मान्यतासमेत आज खण्डित भएका छन् । नेपाली समाजमा समेत तेस्रो लिङ्गीलाई सामाजिक, संवैधानिक र कानुनी मान्यता प्रदान गरिएका छन् । शारीरिक दृष्टिले असक्षम व्यक्तिका अधिकारलाई संवैधानिक, कानुनी, सामाजिक र व्यावहारिक हिसाबले सुरक्षित र व्यवस्थित गरिएका छन् । पुरातन समाजमा असक्षम र पाप ठानिने त्यस्ता व्यक्तिले समेत आफूलाई अन्य सरहका कतिपय कार्यमा सक्षम साबित गरेका घटना नेपाली समाजमा पनि देख्न सकिन्छ । व्यक्तिका चाहना, आवश्यकता, अधिकार आदिको दायरा फराकिलो भएको छ । 

व्यक्तिले आफ्ना भौतिक, शारीरिक एवं मनौवैज्ञानिक आवश्यकता पूर्तिका लागि विभिन्न प्रकारका वैध–अवैध, कानुनी–गैरकानुनी, सामाजिक–गैरसामाजिक, हुने–नहुने सबै प्र्रकारका कार्य र व्यवहार गर्दै आएकाले सामाजिक समस्या बढ्दै गयो । नेपाली समाजका लागि पनि यो खालको समस्या एउटा ठुलो चुनौती बनेर खडा भएको छ । आधुनिक र विकसित समाजमा ज्ञान–विज्ञान, भौतिक वस्तु एवं सूचनाको विकाससँगै मानिसका अनेकथरी आवश्यकता चौतर्फी रूपमा बढिरहेका छन् । यही कारण विभिन्न प्रकारका नयाँ नयाँ अपराध तथा गैरसामाजिक हर्कत र कुकर्म बढ्दै गएको देखिन्छ । आफूलाई समाजमा देखाउन, स्तरीकरण भएको अनुभूति गर्न र आर्थिक रूपले टिकाउन सामाजिक र गैरसामाजिक, कानुनी र गैरकानुनी, नैतिक र अनैतिक सबै प्रकारका कार्य गर्न थालेकाले समाज भ्रष्ट बन्दै छ । 

भौतिकता, ज्ञान, विज्ञान, विकास, समृद्धि आवश्यक विषय भए पनि त्यसलाई मात्र प्रधानता दिने संस्कृतिले मानवीयता, सामाजिक मूल्य र नैतिकता ध्वस्त बन्दै गएका छन् । जसरी मानव शरीरका लागि विभिन्न प्रकारको पोषण तत्वको आवश्यक हुन्छ । सोही पोषण तत्वको सन्तुलन गर्न सकिएन भने सुगर, प्रेसर, क्यान्सर जस्ता अनेकौँ रोग लाग्न सक्ने भए जस्तै आधुनिकता र विकास, सूचना र विश्वव्यापीकरण, वस्तु र सेवाको उपभोगको कारण व्यक्ति र समाजमा अनगन्ती सामाजिक रोगका लक्षण देखिन थाले । समाजमा बढ्न थालेका अमानवीय, असामाजिक, अनैतिक र कुकर्मलाई न्यूनीकरण गर्दै सभ्य समाजको निर्माण गर्नु आजको चुनौती हो । यद्यपि सामाजिक समस्या र मुद्दा अन्त्य हुने विषय होइनन् । बरु नयाँ नयाँ रूप, शैली र तरिकाबाट प्रकट हुने कुरा हुन् । यसलाई शिक्षा, सचेतना, दण्ड र पुरस्कार आदिको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । 

आज विश्वका कुनै पनि समाज र मुलुक सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक आदि समस्याबाट मुक्त छैनन् । नेपाली समाज पनि विकास, आधुनिकता, विश्वव्यापीकरण, निजीकरण, बजारीकरण, सूचना, प्रविधि, ज्ञान, सहरीकरण आदिको विस्तारबाट प्रभावित हुँदै आएको छ । कतिपय अवस्थामा यसले व्यक्ति र समाजलाई माथि लैजान टेवा दिएका छन् । विकसित युरोप–अमेरिकामा आज देखिएका सामाजिक समस्या र मुद्दाबाट पाठ सिकेर भोलिको नेपाली समाजमा देखिन सक्ने सामाजिक विकृति, समस्या र मुद्दाको आजैदेखि आकलन गर्नु आजको आवश्यकता हो । विश्वव्यापीकरण, विकास र आधुनिकता किसानले धान खेतमा रोपो सपार्न हाल्ने देशी मल जस्तै हो । जसको बढी प्रयोगले रोपो मात्र सप्रने हुन्छ । बाला नलाग्ने र रोपो ढल्ने खतरा रहन्छ । मल नभए रोपो बढ्नै नसक्ने समस्या हुन्छ । किसानलाई रोपोमा मल हाल्न सन्तुलन पु¥याउनु परे जस्तै नेपाली समाजलाई विश्वव्यापीकरणका दुर्गुणबाट बचाउनु चुनौतीपूर्ण छ ।