करेन्ट लागेर मृत्यु
धान खेतमा पानी हाल्नेक्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सावा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
टिकट वितरणमा मनपरी नहोस् : नेता केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मिटरब्याज पीडितलाई उजुरी दिन सरकारको आग्रह
सरकारले देशभर रहेका सबै मिटरव्याज पीडितलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।
बेल र गुडरुङ नदीको कटानले दरखसवा गाउँ उच्च जोखिममा
कपिलबस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पुर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।
लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
रसुवा, साउन २८ गते । रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका -५ स्थित गोसाइँकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका -८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका -३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् । सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उहाँहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।
चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण
नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले चिकित्सकका लागि आठबुँदे आचारसंहिता जारी गरिएको जानकारी दिँदै भन्नुभयो, “पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले चिकित्सकलाई आचारसंहिताबाट अनिवार्य रूपमा बाँध्नुपर्ने देखियो ।”
आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
युवामा शैक्षिक बेरोजगारीको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो प्रतिबद्ध व्यक्त गर्नुभएको हो ।