नारद कोहार
तौलिहवा, साउन २८ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।
कपिलवस्तु हरिहरपुरका ६० वर्षीय वृद्ध बुदई नाउँ वर्षाका समयमा रातभर जाग्राम बस्न बाध्य भएको गुनासो छ । नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने नाउँले बताउनुभयो ।
दुवै नदीको कटानका कारण उहाँ मात्र हैन, अर्का स्थानीय विष्णु मल्लाहको पनि कम पीडा छैन । उहाँले भन्नुभयो “स्थानिय तहसँग थोरै बजेट भएकाले नदी नियन्त्रण गर्न निकै नै समस्या परेको बताउनुभयो ।” नदी काटन नियन्त्रण गर्न ठूलो समस्या रहेको उहाँको भनाइ छ ।
वर्षौंदेखि बेल र गुडरुङ नदीको कटानका कारण नदी नियन्त्रणको सरकारी तवरबाट खासै प्रयास नहुँदा दरखसवा गाउँका उच्च जोखिममा रहेका छन् । नदी नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारले तत्काल ध्यान दिनुपर्ने स्थानीय दिनेश तिवारीले बताउनुभयो ।
बेल र गुडरुङ नदीले हरिहरपुरको दरखसवा मात्र होइन राजमार्ग दक्षिणका धनकौली, कजरहवा, पर्सोहिया, वसन्तपुर, सिहखोरलगायतका गाउँमा समेत बर्सेनि कटान गर्दै आएको छ ।
नदी नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले कुनै दिन ठूलै विपत्ति नआउला भन्न सकिन्न ? नगरपालिकाले बेलनदीमा कटान नियन्त्रण गर्न तारजाली, ढुङ्गासहितको बाँध निर्माण गरेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।