• ६ साउन २०८१, आइतबार

मिटरब्याज पीडितलाई उजुरी दिन सरकारको आग्रह

blog

काठमाडौं, साउन २८ गते । सरकारले देशभर रहेका सबै मिटरब्याज  पीडितलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

सरकारले शुक्रबार ‘मिटरब्याज अपराध नियन्त्रयाका उपायहरु सिफारिस गर्न कार्यदल’ गठन गरेको थियो । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरु सिफारिस गर्न कार्यदल गठन भएको हो ।

कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालद्वारा जारी विज्ञप्तिमा मिटरब्याज पीडितलाई तथ्य प्रमाणसहित आगामी भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न भनिएको छ ।

गृहमन्त्रालयका सहसचिव समेत रहनुभएको भुसालले कार्यदल गठन भएको एक घण्टाभित्र नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डल क्षेत्रमा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको जानकारी दिनुभयो ।

नवलपरासीमा मात्र नभई तराईका अधिकांश जिल्लाहरूबाट समेत गुनासो प्राप्त भएको संयोजक भुसालले बताउनुभयो ।

देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दर्ता गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।