• २४ जेठ २०८२, शनिबार

सञ्चारमन्त्री गुरुङद्वारा धरानको रेडियो नेपाल अनुगमन

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुहुँदै ।

निशा राई 

धरान, जेठ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ । 

शुक्रबार धरान–८ स्थित औधोगिक क्षेत्र छेउमा रहेको रेडियो नेपालको जिर्ण अवस्थामा रहेको भवन र १८ विघा जग्गाको अनुगमन गर्दै उहाँले यसको संरक्षण गर्न र धरानबाट सबै नसार्न आग्रह गर्नुभयो । उक्त समयमा धरानमा बन्दै गरेको स्मार्ट बसपार्कको पनि अवलोकन गर्नुभएको थियो ।

धरानमा २०४६ सालदेखि सञ्चालनमा रहेको रेडियो नेपालको यस भवनमा १ सय मेगावाटको पूर्वाञ्चल भरिको लागि टावर राखि रेडियो सञ्चालन गर्दै आएपनि विराटनगरमा अफिस सारेपछी यहाँ रहेको सामग्रीहरु सबै बन्द गरिएको रेडियो नेपालको केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले बताउनुभयो । 

हाल डिजिटल प्रविधिले गर्दा पुरानै सिस्टममा चलाउँदा महिनाको ८ देखि १० लाखसम्म बिजुलीको बिल तिर्न पर्ने भएकोले खर्च धान्न नै धौधौ परेकोले अब यस भवनमा एफएम चलाउनको लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । 

उक्त अनुगमनको क्रममा सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्ण भई बर्खाको बेला पानी चुहिने भएकोले तत्काल मर्मत गर्न पर्ने भएकोले अस्थायी रूपमा कार्यालय सार्नु पर्ने भएकोले धरानका जनप्रतिनिधि साथै राजनीतिक दलहरुले भाडामा भएपनि रेडियोको उक्त खालि जग्गामा अस्थायी रूपमा सार्न दिन सञ्चार मन्त्री गुरुङ समक्ष माग गरेका छन् ।

ट्राफिक प्रहरी कार्यालयलाई त्यहाँ बस्न दिँदा उक्त जिर्ण भवनको रेखदेख पनि हुने साथै त्यस ठाउँमा लागुऔषध सेवन गर्नेको थलो भएकोले ठाउँ सुरक्षित पनि हुने पूर्व बाणिज्य मन्त्री तथा नेपालि काँग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जग्गा दिन राम्रो हो, यसको लागि बोर्डको बैठकमा कुरा राख्ने, मिले सम्म राख्न दिन्छौ, सरकारी जग्गा हो सरकारी भवनकै लागि दिँदा भाडा पनि नलिने रेडियो नेपालको अध्यक्ष विष्टले बताउनुभयो । धरानबाट अब केही पनि नसार्ने मिले सम्म यो रेडियो नेपालको भवनमा एफएम राखेर भएपनि सञ्चालनमा ल्याउने कोसिस गरिरहेको उहाँले बताउनुभयो । 

अनुगमन कार्यक्रममा मन्त्रालयको सचिव राधिका अर्याल, धरान उपमहानगरको निवर्तमान नगर प्रमुख तिलक राई, उपप्रमुख मन्जु भण्डारी, कोशि प्रदेशको सांसद यसोदा कायस्थ, काँग्रेसको धरान सभापति श्याम पोख्रेल लगायतको उपस्थिति थियो ।