• २३ जेठ २०८२, शुक्रबार

बगरमा गाडेको अवस्थामा ११ सय किलो गाँजा बरामद

blog

भारतीय सिमावर्ती क्षेत्रअन्तर्गत पर्ने सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गरेको गाँजा । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
इटहरी, जेठ २१ गते ।
 भारतीय सिमावर्ती क्षेत्रअन्तर्गत पर्ने सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट सशस्त्र प्रहरी बलको सक्रियतामा ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ । 

सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टहरू र नेपाल प्रहरीको स्थानीय युनिटको संयुक्त टोलीले मङ्गलबार राति एक टनभन्दा बढी अवैध गाँजा बरामद गरेको छ । विशेष सुराकी सूचनाका आधारमा गरिएको विशेष अपरेसनबाट प्रहरी टोलीले ३८ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको बिओपी घुस्की, बिओपी वसन्तपुर तथा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की र वसन्तपुरबाट खटिएको ४० जना सुरक्षाकर्मीको संयुक्त टोलीले विशेष अप्रेसन गरी बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र गाडेको एक हजार १२० किलो गाँजा फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक थापाको भनाइ छ । बरामद गरिएको गाँजालाई अनवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको बताइएको छ ।

सिमानाकामा सशस्त्र प्रहरीको सक्रियता तीव्र

नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै सुनसरी जिल्लाको भारतीय सिमावर्ती क्षेत्रबाट अवैध गाँजा तस्करी गर्ने गिरोहहरू लामो समयदेखि सक्रिय हुँदै आएपछि अहिले सिमानाकाको सुरक्षार्थ परिचालित सशस्त्र प्रहरी बलले थप सक्रियता देखाएको छ । खासगरी सुनसान बगर, झाडी र नदी आसपासका क्षेत्रलाई प्रयोग गरेर गाँजा भारततर्फ ओसारपसार गर्दै आएपछि सशस्त्र प्रहरी बलले सुनसरीका थप जनशक्तिसमेत परिचालन गरी आफ्नो सक्रियता बढाएको छ ।

प्रतिबन्धित गाँजा लगायतका अवैध तस्करीका गतिविधिको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय सीमावर्ती क्षेत्रमा नियमित रूपमा रात्रिकालीन गस्ती, सूक्ष्म निगरानी र विशेष अपरेसनलाई प्राथमिकता दिँदै आएको सशस्त्र प्रहरी उपरीक्षक थापाको भनाइ छ ।

पछिल्लो समय अवैध लागु औषध ओसारपसार सीमावर्ती क्षेत्रको प्रमुख चुनौती बनेको देखिएपछि नेपाल प्रहरीको युनिटसमेतलाइ समन्वय गरेर विशेष सुराकी सूचना सङ्कलन गर्ने स्थानीय स्तरमासमेत समन्वय गर्ने र नियमित गस्तीलाई अझ प्रभावकारी बनाएर विशेष अप्रेसन गर्ने कार्यलाइ प्राथमिकता दिँदै आएको बताइएको छ ।