• २४ जेठ २०८२, शनिबार

प्रतिनिधिसभा बैठक फेरि स्थगित : विपक्षीका तीन माग

blog

विपक्षी तीन दलका नेताहरूको बैठक । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ, जेठ २३ गते । लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । 

विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्चालन हुने वातावरण नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

उता सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीनवटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् ।     

राससका अनुसार संसद् भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभयो ।

श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उहाँले सुनाउनुभयो । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको झाले बताउनुभयो ।