• ११ मंसिर २०८१, मङ्गलबार

टिकट वितरणमा मनपरी नहोस् : नेता केसी

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्र नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास रहेको बताउनुभयो ।  मापदण्ड एकातिर टिकट वितरण अर्कोतिर नगर्न संस्थापक पक्षलाई उहाँले आग्रह गर्नुभयो । संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थालेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि उहाँले दिनुभयो । 

केन्द्रीय सदस्य केसीले गठबन्धन दलले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने बताउनुभयो । यस बारेमा थप छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गठबन्धनलाई सही बाटोमा लैजान र संविधानसम्मत अघि बढाउन जनतालाई गठबन्धनको कामकाजबारे जनतालाई जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।

‘गठबन्धन परिस्थितिको बाध्यता हो, कुन आधारमा सिट बाँडफाँट भयो भन्नेकुरा गठबन्धनले नागरिकलाई स्पष्ट रुपमा जानकारी दिनुपर्छ’ नेता केसीले थप्नुभयो, “टिकट वितरणमा मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन ।”