मिर्चाडाँगीको दुःख
मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
किमाथाङ्का, वैशाख ९ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रदेश ब्युरो विराटनगर, वैशाख ९ गते । विराटनगर प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले प्रदेश १ का १३७ स्थानीय पालिकामा बिहीबार नै मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताउनुभयो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै वैशाख ३० गते हुने निर्वाचनको काम औपचारिक रूपबाट सुरु भएको छ । रङ्गेली समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्नेसहित विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको हो । मोरङका मुख्य निर्वाचन अधिकृत एवं मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले कार्यालयको उद्घाटन गर्नुभएको थियो । उहाँले जिल्लाका १७ स्थानीय तहसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य एकैदिन सम्पन्न भएको बताउनुभयो । निर्वाचनसँग सम्बन्धित कार्यक्रम गर्नका लागि मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको आवश्यक कामहरू अगाडि बढेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाइने बताउनुभयो । स्थानीय तहको समन्वयमा निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक भवन, सीसी क्यामेरा जडान, सवारी साधन, फर्निचर, सञ्चारलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था रहेको प्रजिअ दाहालले जानकारी दिनुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उमेदवार तथा सरोकारवालासँग छलफल आयोजना गरेर वैशाख ११ गते मनोनयनको कार्यक्रम गरिने मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो । मनोनयनमा उम्मेदवारले ध्यान दिनुपर्ने कुरालाई मुख्य तथा निर्वाचन अधिकृतका कार्यालयले सरोकारपक्षसँग छलफल वैशाख ११ अगावै गरिसक्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतले प्रजिअसँगको समन्वयमा सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता, अनुगमन, मतदान स्थलको बारेमा जानकारी लिने काम गर्नका लागि कार्यालय स्थापनासँगै सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत लम्सालले आगामी २२ दिनभित्र सबै प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गराउन सबैसँग अपिल गरिने बताउनुभयो । दलहरू अनिर्णित गाईघाट समाचारदाताका अनुसार आठवटा स्थानीय तह रहेको उदयपुर जिल्लामा आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि सदरमुकाम गाईघाटमा मुख्य निर्वाचन अधिकृत र अन्य सातवटा पालिकाको केन्द्र रहेको स्थानमा बिहीबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे छ । निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै सम्बन्धित पालिकाका लागि निर्वाचन अधिकृत खटाइएको र सबै पालिका बिहीबार नै स्थानीय तह सदस्य निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गरिएको उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयो ।निर्वाचनमा भाग लिने राजनीतिक दलले भने बिहीबारसम्म स्थानीय तहका लागि कुनै पनि उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सत्तारुढ पाँच दलीय गठबन्धनको पटक–पटक बैठक बसे पनि अहिलेसम्म निर्णयमा पुगिनसकेको प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेस उदयपुरका पार्टी सभापति हिमाल कार्कीले बताउनुभयो । जिल्लाका ७५ वटा वडा र आठवटा पालिकामा कति ठाउँमा गठबन्धन हुने र कति ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरिने भन्ने कुराको टुङ्गो लगाउन बैठक चलिरहेको र शुक्रबार साँझसम्ममा निर्णयमा पुगिने सभापति कार्कीले बताउनुभयो । मतदान स्थलमा स्वास्थ्यकर्मीदमक समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनमा झापामा हरेक मतदान स्थलमा कम्तीमा पनि एक जना स्वास्थ्यकर्मी पर्ने गरी व्यवस्थापन गर्ने तयारी सुरु भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरेर आफ्नो काम सुरु गरिसकेको छ ।निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा २८६ मतदान स्थलमा ७५५ वटा मतदान केन्द्र रहने छन् । एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भएकोछ । जिल्लामा छ लाख ४६ हजार २३४ जना मतदाता छन् । जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखको बैठकले मतदानका दिन मतदान स्थलमा कर्मचारी खटाउँदा सम्भव भएसम्म प्रत्येक मतदान स्थलमा एक जना स्वास्थ्यकर्मी पर्ने गरी खटाउन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गर्ने निर्णय भएको छ । गर्मी महिना भएकाले स्वास्थ्यमा कसैलाई समस्या आउनसाथ प्राथमिक उपचारका लागि सहज हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अनुसार कार्यालय प्रमुखको बैठकले सरकारी तथा अर्धसरकारी र सामुदायिक रूपमा सञ्चालन भएका सम्पूर्ण एम्बुलेन्सको अद्यावधिक गर्ने पनि निर्णय भएको छ । स्थानीय तह, अस्पताल, जनस्वास्थ्य, स्वास्थ्य संस्था, सामुदायिक तथा गैर सरकारी संस्था जस्ता विभिन्न सङ्घ संस्थाबाट सञ्चालित एम्बुलेन्स, दमकलको विवरण अद्यावधिक गर्ने र चालु हालतमा राख्न पत्राचार गर्ने निर्णय भएको प्रजिअ रिजालको भनाइ छ ।सबै तहमा कार्यालय ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गाको एक नगरपालिकासहित सातवटा गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ओखलढुङ्गा सदरमुकामस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दलबहादुर केसी बताउनुभयो । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर एक–एक जना कर्मचारी नियुक्त गर्ने प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवार मनोनयन दर्तादेखि दाबी विरोधको उजुरी लिने, निर्णय गर्ने, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, मतगणनादेखि विजय घोषणा र प्रमाणपत्र वितरणलगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख न्यौपानेले बताउनुभयो । यसका साथै मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने, सुरक्षा समन्वय गर्ने जिम्मेवारी निर्वाचन अधिकृतको कार्यालको हुनेछ ।ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश प्रकाश राउतले बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गर्नुभएको हो । बिहीबार नै जिल्लाका बाँकी आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएका छन् ।
काँग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा खतिवडा
ओखलढुङ्गा, बैशाख ८ गते । निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा मनोनयन हुनुभएको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले केन्द्रीय सदस्य खतिवडालाई संयोजकमा मनोनयन गरेको हो । पार्टीका उपसभापति एवम् संयोजक पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुभएको पत्रमा उहाँलाई सो जिम्मेवारी तोकिएको हो । निर्वाचन प्रचार अभियानलाई स्वस्थ र मर्यादित बनाउँदै स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्न यस निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको मुख्य भूमिका हुनेछ । मतदान स्थल, मतदान प्रक्रियाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकायसँग आवश्यकताअनुसार सम्पर्क समन्वय गरेर काम गर्ने संयोजक खतिवडाले बताउनुभयो । देशभरका नेपाली काँग्रेसका मतदातालाई भयरहित, शान्ति सुरक्षा सुनिश्चितता गर्नका लागि जोड दिइने नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक खतिवडाको भनाइ छ ।
गठबन्धनमा सहमति, उम्मेदवारीमा अडान
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ का चौध जिल्लाका अधिकांश स्थानीय तहमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । प्रदेश १
पाठकको रुचिअनुसार गोरखापत्र प्रकाशन
गोरखापत्र संस्थानका प्रकाशनलाई समयानुकूल परिमार्जन गरी सामग्रीलाई अझ उत्कृष्ट बनाइने भएको छ । नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्र दैनिकलगायत संस्थानका प्रकाशनलाई थप परिमार्जित गर्दै पाठकको रुचिको पत्रिका बनाउन योजना सुरु भएको छ ।
ताप्लेजुङका दुई स्थानीय तहको आफ्नै प्रशासकीय भवन
ताप्लेजुङमा पाँच वर्षको अवधिमा दुईवटा स्थानीय तहले आफ्नो प्रशासकीय भवन निर्माण गरेका छन् । जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकाले स्थायी प्रशासकीय भवन निर्माण गरेका हुन् ।
रतुवा पारीको मिर्चाडाँगीको दुःख, तीन महिना नेपालसँग सम्पर्कविहीन
हरिप्रसाद कोइराला उर्लाबारी, वैशाख ६ गते । मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् । देशको प्रमुख औद्योगिक नगर तथा प्रदेश नं. १ को राजधानीमा अहिलेसम्म यस्तो अवस्था छ । रतुवामाई नगरपालिका वडा नं. ३ को दक्षिण पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ४ मा अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिममा पर्ने पिढालीसम्म पुग्नु बाध्यता छ । मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । पिढाली पुग्न बालबालिकालाई धेरै गाह्रो छ । वर्षमा दुई महिना रतुवा नदीमा आएको बाढीले विद्यालय जान पाउँदैनन् । रतुवा नदीको बगर मात्र छ सय मिटर हिँड्नुपर्छ । चैत वैशाखमा चल्ने हावाहुरीले आँखामा बालुवा हालिदिन्छ । पिढालीको भानु आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेकी शीतलकुमारी गनगाईंले भन्नुभयो, ‘गाउँमा विद्यालय छैन, खोलामा बाढी आउँदा विद्यालय जान पाइँदैन । विद्यालयबाट फर्किँदा ठूलो बाढी आएर घर जान पाएका छैनौं ।’ निशाकुमारी हरिजनले भन्नुभयो– ‘वर्खाको बेला विद्यालय जान पाइँदैन । अरु बेला धुलो र हिलोले दुःख दिन्छ । रतुवाको बगरैबगर ४० मिनेट हिँड्न गाह्रो छ । अझ चैत वैशाखको घाममा घर पुग्दा गलेर भुतुक्कै भइन्छ ।’ मिर्चाडाँगीबाट १२/१३ जना विद्यार्थी खोला तरेर पिढालीमा पढ्न आउँछन् । सीमाकुमारी गनगाईंले भन्नुभयो –‘हामीलाई विद्यालयले छात्रावासको व्यवस्था गरिदिए राम्रो हुने थियो । अर्की छात्रा प्रियङ्का गनगाईंले विद्यालय टाढा भएकोले मिर्चाडाँगीका बालबालिकाले बीचैमा पढ्न छोड्ने गरेको बताउनुभयो । रतुवापारीको मिर्चाडाँगीको पूर्व र दक्षिणमा भारत पर्छ । नेपाल भारतको दशगजा सीमाबाट ४० फिट उत्तर पश्चिमको मिर्चाडाँगीबाट झापा पुग्न भारत टेक्नै पर्छ । पश्चिमतर्फ रतुवा नदी पर्छ, रतुवामा पुल छैन । जसले गर्दा उनीहरू वर्षको तीन महिना नेपालसँग सम्पर्कविहीन जस्तै हुन्छन् । मिर्चाडाँगीका गान्धीप्रसाद सिंहले भन्नुभयो– ‘हामी यहाँ एक सय १५ घर धुरी छौँ ।’ मिर्चाडाँगीको सबैभन्दा पूर्व दक्षिणको गाउँमा जनप्रतिनिधि आएपछि मात्र विजुली बल्यो । हरिजन(दलित) बस्ती रहेको उक्त स्थानमा १३ घर परिवार बस्दै आएका छन् । उनीहरूको घरबाट भारतको दशगजा २० फिट पूर्व –दक्षिण छ । जनप्रतिनिधि आएपछि बल्ल सशस्त्र प्रहरीको सीमा प्रहरी कार्यालय स्थापना भएको छ
निर्वाचन निर्धारित समयमा हुनुपर्छ : अध्यक्ष ओली
सन्तोष राउतसोलुखुम्बु, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । एमाले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा सोमबार आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । निर्वाचनमा एमाले र गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा हुने उहाँले चर्चा गर्नुभयो । गठबन्धन दलको सामना गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो । एमाले विजयी भएमात्र मुलुकमा आर्थिक समृद्धि कायम हुने भन्नुहुँदै अध्यक्ष ओलीले सहयोग गर्न आग्रह गर्नुभयो ।प्रदेस १ का पूर्व मुख्यमन्त्रि शेरधन राईले आगामी निर्वाचनमा एमालेले धेरै सिट जित्ने दाबी गर्नुभयो । राईले एमाले विकासको बाहक भएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । महाधिबेशन प्रतिनिधि शेर्पालाई एमालेबाट मेयरमा टिकट दिने सहमति भएको एमाले स्रोतको बुझाई छ ।