• १८ असार २०८१, मङ्गलबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

प्रदेश ब्युरो 

विराटनगर, वैशाख ९ गते । विराटनगर प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले प्रदेश १ का १३७ स्थानीय पालिकामा बिहीबार नै मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताउनुभयो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै वैशाख ३० गते हुने निर्वाचनको काम औपचारिक रूपबाट सुरु भएको छ । 

रङ्गेली समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्नेसहित विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको हो । 

मोरङका मुख्य निर्वाचन अधिकृत एवं मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले कार्यालयको उद्घाटन गर्नुभएको थियो । उहाँले जिल्लाका १७ स्थानीय तहसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य एकैदिन सम्पन्न भएको बताउनुभयो । 

निर्वाचनसँग सम्बन्धित कार्यक्रम गर्नका लागि मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको आवश्यक कामहरू अगाडि बढेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाइने बताउनुभयो । स्थानीय तहको समन्वयमा निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक भवन, सीसी क्यामेरा जडान, सवारी साधन, फर्निचर, सञ्चारलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था रहेको प्रजिअ दाहालले जानकारी दिनुभयो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उमेदवार तथा सरोकारवालासँग छलफल आयोजना गरेर वैशाख ११ गते मनोनयनको कार्यक्रम गरिने मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो । मनोनयनमा उम्मेदवारले ध्यान दिनुपर्ने कुरालाई मुख्य तथा निर्वाचन अधिकृतका कार्यालयले सरोकारपक्षसँग छलफल वैशाख ११ अगावै गरिसक्ने तयारी गरेको छ । 

मुख्य निर्वाचन अधिकृतले प्रजिअसँगको समन्वयमा सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता, अनुगमन, मतदान स्थलको बारेमा जानकारी लिने काम गर्नका लागि कार्यालय स्थापनासँगै सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत लम्सालले आगामी २२ दिनभित्र सबै प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गराउन सबैसँग अपिल गरिने बताउनुभयो । 

दलहरू अनिर्णित 

गाईघाट समाचारदाताका अनुसार आठवटा स्थानीय तह रहेको उदयपुर जिल्लामा आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि सदरमुकाम गाईघाटमा मुख्य निर्वाचन अधिकृत र अन्य सातवटा पालिकाको केन्द्र रहेको स्थानमा बिहीबारदेखि  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे छ । 

निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै सम्बन्धित पालिकाका लागि निर्वाचन अधिकृत खटाइएको र सबै पालिका बिहीबार नै स्थानीय तह सदस्य निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गरिएको उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलले भने बिहीबारसम्म स्थानीय तहका लागि कुनै पनि उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

 सत्तारुढ पाँच दलीय गठबन्धनको पटक–पटक बैठक बसे पनि अहिलेसम्म निर्णयमा पुगिनसकेको प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेस उदयपुरका पार्टी सभापति हिमाल कार्कीले बताउनुभयो । 

जिल्लाका ७५ वटा वडा र आठवटा पालिकामा कति ठाउँमा गठबन्धन हुने र कति ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरिने भन्ने कुराको टुङ्गो लगाउन बैठक चलिरहेको र शुक्रबार साँझसम्ममा निर्णयमा पुगिने सभापति कार्कीले बताउनुभयो । 

मतदान स्थलमा स्वास्थ्यकर्मी

दमक समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनमा झापामा हरेक मतदान स्थलमा कम्तीमा पनि एक जना स्वास्थ्यकर्मी पर्ने गरी व्यवस्थापन गर्ने तयारी सुरु भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरेर आफ्नो काम सुरु गरिसकेको छ ।

निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा २८६ मतदान स्थलमा ७५५ वटा मतदान केन्द्र रहने छन् । एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भएकोछ । जिल्लामा छ लाख ४६ हजार २३४ जना मतदाता छन् । 

जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखको बैठकले मतदानका दिन मतदान स्थलमा कर्मचारी खटाउँदा सम्भव भएसम्म प्रत्येक मतदान स्थलमा एक जना स्वास्थ्यकर्मी पर्ने गरी खटाउन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गर्ने निर्णय भएको छ । गर्मी महिना भएकाले स्वास्थ्यमा कसैलाई समस्या आउनसाथ प्राथमिक उपचारका लागि सहज हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अनुसार कार्यालय प्रमुखको बैठकले सरकारी तथा अर्धसरकारी र सामुदायिक रूपमा सञ्चालन भएका सम्पूर्ण एम्बुलेन्सको अद्यावधिक गर्ने पनि निर्णय भएको छ । स्थानीय तह, अस्पताल, जनस्वास्थ्य, स्वास्थ्य संस्था, सामुदायिक तथा गैर सरकारी संस्था जस्ता विभिन्न सङ्घ संस्थाबाट सञ्चालित एम्बुलेन्स, दमकलको विवरण अद्यावधिक गर्ने र चालु हालतमा राख्न पत्राचार गर्ने निर्णय भएको प्रजिअ रिजालको भनाइ छ ।

सबै तहमा कार्यालय 

ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गाको एक नगरपालिकासहित सातवटा गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  ओखलढुङ्गा सदरमुकामस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दलबहादुर केसी बताउनुभयो । 

सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर एक–एक जना कर्मचारी नियुक्त गर्ने प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवार मनोनयन दर्तादेखि दाबी विरोधको उजुरी लिने, निर्णय गर्ने, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, मतगणनादेखि विजय घोषणा र प्रमाणपत्र वितरणलगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख न्यौपानेले बताउनुभयो । यसका साथै मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने, सुरक्षा समन्वय गर्ने जिम्मेवारी निर्वाचन अधिकृतको कार्यालको हुनेछ ।

ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश प्रकाश राउतले बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गर्नुभएको हो । बिहीबार नै जिल्लाका बाँकी आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएका छन् ।