• १८ असार २०८१, मङ्गलबार

मिर्चाडाँगीको दुःख

blog

तस्बिर : हरिप्रसाद कोइराला विद्यालयबाट फर्किंदै मिर्चाडाँगीका चार बालिका ।

उर्लाबारी समाचारदाता

उर्लाबारी, वैशाख ९ गते । मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।

मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । ४ कक्षादेखि माथि पढ्न पिढाली चोक जानैपर्छ तर पिढाली पुग्न बालबालिकालाई धेरै गाह्रो छ । वर्षमा दुई महिना रतुवा नदीमा आएको बाढीले गर्दा उनीहरू विद्यालय जान पाउँदैनन् । रतुवा नदीको बगर मात्र छ सय मिटर हिँड्नुपर्छ । चैत, वैशाखमा चल्ने हावाहुरीले आँखामा बालुवा हालिदिन्छ । पिढालीको भानु आधारभूूत विद्यालयमा कक्षा ४ मा पढिरहेकी शीतलकुमारी गनगाईले भनिन्– गाउँमा विद्यालय छैन । 

पानी पर्दा, खोलामा बाढी आउँदा विद्यालय जान पाइँदैन । “कति पटक त विद्यालयबाट फर्किंदा ठूलो बाढी आएर घर जान पाएका छैनौँ,” विद्यालयबाट घर फर्किंदै गरेका छात्राले सामूहिक जवाफ दिए । 

हुनेखानेले बजारतिरै राखेर छोराछोरी पढाउँछन् । कतिपयका छोराछोरी विराटनगरतिर पढ्छन् तर विपन्न परिवारका छोराछोरी घरबाटै विद्यालय धाउन बाध्य छन् । निशाकुमारी हरिजनले भन्नुभयो, “बर्खाको बेला विद्यालय जान पाइँदैन । अरू बेला धुुलो र हिलोले दुःख दिन्छ । रतुवाको बगरैबगर ४० मिनेट हिँड्न गाह्रो छ । चैत, वैशाखको घाममा त घर पुग्दा गलेर भुतुक्कै भइन्छ ।” मिर्चाडाँगीबाट १२÷१३ जना विद्यार्थी खोला तरेर पिढालीमा पढ्न आउँछन् । सीमाकुमारी गनगाईंले भन्नुभयो, “हामीलाई विद्यालयले छात्रावासको व्यवस्था गरिदिए राम्रो हुने थियो ।” अर्की छात्रा प्रियङ्का गनगाईंले विद्यालय टाढा भएकोले मिर्चाडाँगीका बालबालिकाले बीचैमा पढ्न छोड्ने गरेको बताउनुभयो । 

रतुवापारिको मिर्चाडाँगीको भूगोल विचित्रको छ । पूर्व र दक्षिणमा भारत पर्छ । नेपाल–भारतको दसगजा सीमाबाट ४० फिट उत्तर, पश्चिमको मिर्चाडाँगीबाट झापा पुग्न भारतलाई टेक्नै पर्छ । पश्चिमतर्फ रतुवा नदी पर्छ, रतुवामा पुल छैन । जसले गर्दा उनीहरू वर्षको तीन महिना जति नेपालसँग सम्पर्कविहीन जस्तै हुन्छन् । मिर्चाडाँगीका गान्धीप्रसाद सिंहले भन्नुभयो, “हामी यहाँ ११५ घरधुरी छौँ । मिर्चाडाँगीको सबैभन्दा पूर्व दक्षिणको गाउँमा जनप्रतिनिधि आएपछि मात्र बिजुली बल्यो ।” हरिजन (दलित) बस्ती रहेको उक्त स्थानमा १३ घरपरिवार बस्दै आएका छन् । उनीहरूको घरबाट भारतको दसगजा २० फिट पूर्व–दक्षिण रहेको छ । जनप्रतिनिधि आएपछि बल्ल सशस्त्र प्रहरीको सीमा प्रहरी कार्यालय स्थापना भएको मिर्चाडाँगीको दुःखलाई सङ्घीय र प्रदेश सरकारले कहिले सम्बोधन गर्छ ? उनीहरू पर्खाइमा छन् ।