नयाँ उद्योग स्थापना नगरे देश विकास सम्भव छैन : मन्त्री बडु
देश विकासका लागि नयाँ उद्योग स्थापना गर्न जरुरी रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बताउनु भएको छ । मन्त्री बडुले धरान औधोगिक क्षेत्र निरीक्षण भ्रमणको कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
कार्गो रेल्वे सञ्चालन हुने
निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।
एक वर्षमा एकसय जनाभन्दा बढीको अकालमा मृत्यु
ताप्लेजुङमा एक वर्षको अवधिमा एकसय जनाभन्दा बढीको अकालमा ज्यान गएको छ । प्रहरीका अनुसार भवितव्य, कर्तव्य ज्यान, आत्महत्या लगायतका कारणबाट उनीहरुको अकालमै ज्यान गएको हो ।
विद्युत्को बक्यौता रकम बहत्तर करोड
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रको विद्युत् बक्यौता ७२ करोड २८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड रहेकामा गत आर्थिक वर्ष २०७८/७९ मा सात करोड बक्यौता थपिएको हो । विद्युत् बक्यौता घटाउने लक्ष्य राखिए पनि बर्सेनि बढ्दै गएको छ । विराटनगर महानगरपालिका, कटहरी, जहदा, ग्रामथान र बूढीगङ्गा गाउँपालिका सेवा क्षेत्र रहेको कार्यालय मातहत ७७ हजार ७७७ ग्राहक रहेका छन् ।
दुई महिनादेखि दुई मानव कङ्काल अलपत्र
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा फेला परेको दुईवटा मानव कङ्काल दुई महिनादेखि अलपत्र परेको छ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा फेला परेको मानव कङ्काल जिल्ला अस्पतालको सव–गृहमा अलपत्र परेको हो ।
महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा
सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो ।
जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला
प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्लामा धनकुटा रहेको पाइएको छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गरेको छ भने सबैभन्दा कम भने ओखलढुंगाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ ।
कोसी अस्पतालमा बिरामीको चाप
निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।
मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख
पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रिन छोडेको हो । यस वर्ष मकालु गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा केही सङ्कलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रिएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगेका सिलिचोङ गाउँपालिका–१, शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसे पनि कतै उम्रेको नपाइएको यार्सा सङ्कलनमा गएर फर्कनुभएका सूर्य कुलुङले बताउनुभयो । “एक महिनाका लागि पुर्जी लिएका थियौँ, केही दिनमा उम्रिन्छ कि भनेर पर्खे पनि रित्तै फर्किनु प-यो,” कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन पुर्जी खुलाएको थियो ।