एक हजार ८ सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ ।
डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ ।
वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्नेगरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् ।
राजस्व छलीमा २०३ जनाविरुद्ध मुद्दा
राजस्व अनुसन्धान विभागले पछिल्लो नौ महिनामा १० अर्ब ३० करोड रुपियाँ जरिवाना माग गरेर २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यी घटनामा जरिवानाको दोब्बरले हुन आउने २० अर्ब ६१ करोड रुपियाँ बिगो माग दाबी गरेर उच्च अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।
पत्रु सामान बिक्रीबाट साढे पाँच करोड आम्दानी
गाईघाट, जेठ ३१ गते । उदयपुर सिमेन्ट उद्योगले विभिन्न किसिमका पत्रु सामान बिक्री गरी करिब साढे पाँच करोड रुपियाँ आम्दानी गरेको छ । उद्योगको प्लान्ट तथा खानी क्षेत्रमा विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा यत्रतत्र छरिएर रहेका फलामे सामग्री तथा विभिन्न उपकरण खुला प्रतिस्पर्धाका आधारमा बिक्री गरिएको हो । ती सामान बिक्रीबाट उद्योगले पाँच करोड ४८ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।उद्योग स्थापनाका क्रममा जापान सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ती उपकरण प्रयोग पनि नभइरहेका र बिक्री पनि नगरिँदा खिया लागेर त्यसै सडेर जान लागेको र यसबाट उद्योगलाई निकै ठूलो नोक्सानी हुने अवस्था थियो । उहाँका अनुसार मेसिन, औजार, उपकरण र सवारीसाधनबाहेकका ५३ वटा ‘आइटम’का पत्रु सामानका लागि काठमाडौँ, सिनामङ्गलको प्रयास सोलुसन एन्ड बिल्डर्सले भ्याटबाहेक दुई करोड ४१ लाख रुपियाँमा लिलाम ठेक्का सम्झौता गरेको हो । यसबाहेक अन्य उपकरणमा १६ वटा डम्प ट्रक, पाँचवटा पजेरो जिप, तीनवटा मिनी बस, दुईवटा एक्साभेटर, तीनवटा बुल्डोजर, चारवटा एयर कम्प्रेसर, तीनवटा क्राउलर ड्रिल, दुईवटा फायर इन्जिन, दुईवटा इन्धन ट्याङ्कर, दुईवटा फोर्कलिफ्ट, फायर फाइरिङ, म्यागजिन बक्स, दुईवटा ह्विल लोडर, दुईवटा ट्र्याक लोडर, भाइब्रेटिङ रोलर र ड्रिल मेसिनलगायतका थोत्रा सामान तीन करोड सात लाख रुपियाँमा बिक्री गरिएको हो ।यसैबीच जलजलेस्थित कारखाना परिसरमा सोमबार आयोजित उदयपुर सिमेन्ट उद्योगको ३४औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रमको अवसरमा महाप्रबन्धक न्यौपानेले आगामी आर्थिक वर्षमा उद्योगलाई अझ सबल र बलियो बनाउने प्रतिबद्धतासहितका विभिन्न योजना सार्वजनिक गर्नुभयो । उद्योगको खर्च कटौती गर्दै स्पेयर पार्टस्को उचित व्यवस्थापन गरी क्लिन सेल, रमिल, कोल मिल आदिलाई चुस्त दुरुस्त पार्ने, हाल कायम रहेको ५३३ जनाको दरबन्दीभित्रैबाट जनशक्ति उपयोग गर्ने, उद्योग क्षेत्रमा हुने धुलो धुँवा नियन्त्रण गर्ने, उत्पादन वृद्धि गर्ने, अर्काे प्लान्ट निर्माण गर्नेलगायतका योजना महाप्रबन्धक न्यौपानेले सार्वजनिक गर्नुभयो ।
चोभार बन्दरगाहमा चौध ट्रक भित्रिए
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट)मा हालसम्म १४ वटा ट्रक भित्रिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएयता दुई महिनाभन्दा बढीको अवधिमा भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।
आउन थाले रोकिएका ट्याङ्कर
दुई दिनदेखि भारतीय क्षेत्रमा रोकिएका नेपाली ट्याङ्कर आउन थालेका छन् । भारतीय भन्सारमा रहेका इन्डियन आयल कर्पोरेसनको डिपोमा आन्तरिक कोड आईईसीएडीमा प्राविधिक समस्या आएपछि तेल भर्ने काम बन्द हुँदा नेपाली ट्याङ्कर रोकिनुपरेको नेपाल आयल निगमले जनाएको छ ।
नेप्से परिसूचकको पहिरो थामिएन
पाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ ।
सहकारीमा चोरी गर्न नपाएपछि आगजनी
झापाको कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न गएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति गरेको छ ।