जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टै बैठक काठमाडौंमा शुरू भएकाे छ । बैठकमा पार्टीको कमिकमजोरी र के–के त्रुटी भए भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
ओखलढुङ्गामा बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रधानाध्यापकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको एक प्रधानाध्यापक सहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले साउन लगत्तै विकास निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने बताउनुभएको छ ।
जेसिबीले पल्टाएको ढुङ्गाले लागेका मृतक गगन रायमाझीका बुबा हरिबहादुर रायमाझीलाई निर्माण व्यवसायीका प्रतिनिधि डोलबहादुर कुँवरले पाँच लाख रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्य मात्रै उपस्थिति भएको थियो ।
तानसेन नगरपालिकाले पहिलो पटक विद्युतीय भुक्तानी सुरु गरेको छ । सेवाग्राहीको सहजताका लागि नगरपालिकाले जिल्लामै पहिलो पटक विद्युतीय भुक्तानी सुरुवात गरेको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।
तनहुँ प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । घिरिङ गाउँपालिका– ५ मोचाबारी बस्ने ४० को मानबहादुर थापाले साथमा भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ बल्दे बस्ती बूढीगङ्गा नदी कटानको उच्च जोखिममा रहेको छ । सो वस्तीको माथिबाट पहिरो आउने र तलबाट बूढीगङ्गा नदीले काट्ने गरेपछि त्यो वस्ती अहिले निकै जोखिममा रहेको हो ।
सोलुखुम्बुलाई ५८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो ।
छतबाट पानी चुहिन थालेपछि लुम्बिनीस्थित मायादेवी मन्दिर मर्मत तथा संरक्षणको काम अघि बढाइने भएको छ । लुम्बिनी विकास कोष, पुरातत्व विभाग, विश्व सम्पदा शाखाका पदाधिकारी एवं प्राविधिकसहितको टोलीले संरक्षणको काम कसरी गर्ने भन्नेबारेमा स्थलगत अनुगमन समेत गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले केही दिनमै प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
तनहुँको एक गाउँपालिकाले अशक्त सासु र ससुरालाई राम्रोसँग हेरचाह गर्ने १६ जना बुहारीलाई सम्मान गरेको छ । असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिकाले सम्मान गरेको हो ।