• ८ वैशाख २०८१, शनिबार

बालबालिकाकाे ४८ लाख मात्रा खाेप खेर गयाे

blog

काठमाडौं, साउन १ गते । आर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाइने ४८ लाखभन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ । खेर जानेमा सबैभन्दा बढी बच्चा जन्मने बितिकै लगाइने बीसिजी खोप २० लाख ९५ हजार ३९८ अर्थात् ७८/८ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, प्रतिवेदनमा जन्मिएको ६ र १० हप्तामा लगाईने पेन्टा डीपीटी चार ६४ हजार १५२ अर्थात् २२.२ प्रतिशत खोप खेर गएको छ । बच्चा जन्मिएको नौ महिनामा लगाईने दादुरा रुबेला नौ लाख २७ हजार ५३३ अर्थात् ४८.३ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बच्चा जन्मिएको ६, १० र १४ हप्तामा लगाइने पोलियो ओपीभी चार लाख ६३ हजार ५३३ अर्थात् २३.२ प्रतिशत खोप खेर गएको देखिएको छ । जन्मिएको १२ हप्तामा लगाइने जापानिज इन्सेफलाइटिस खोप चार लाख ३६ हजार ४४६ मात्रा अर्थात ४६.५ प्रतिशत खेर गएको उक्त प्रतिवेदनमा जनाइएको छ ।

धनुष्टंकार र भ्यागुते रोगविरुद्ध लगाइने टीडी खोप चार लाख १३ हजार ३३३ लाख अर्थात् ३६ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ । विभिन्न खोप दाता अनुदानमा प्राप्त तथा विभागले खरिद समेत गरी नेपाल सरकारले निःशुल्क रुपमा लगाउँदै आएको छ ।

खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएकाले प्राप्त भएको खोप अस्वाभाविक रुपमा खेर गएको महालेखाले उल्लेख गरेको छ । यस्तो खोप दिँदा खोप तालिका निर्धारण गरी खोप लगाउने र प्राप्त भएका खोपहरु खेर नजाने गरी व्यवस्थापन गर्न  प्रतिवेदनमा आग्रह गरिएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।