बैतडीको अन्न भण्डारका रूपमा परिचित बैतडीको पाटनमा लगाइएको गहुँखेती । यहाँ अन्न उत्पादन राम्रो हुने गर्दछ । वार्षिक रूपमा तीन पटक सम्म अन्न उत्पादन हुने गर्दछ ।
कर्णाली कोरिडोर अन्तर्गतको सिमिकोट हिस्सा सडक खण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको छ । गाउँपालिकाले मेशिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउँ पन्छाएपछि यातायात सुचारु भएका हाे ।
विद्यालयले जाडो महिनाको बिदा दिएसँगै नृत्य प्रशिक्षण केन्द्रमा बालबालिका र युवाको भीड बढेको छ। केही वर्षअघिसम्म सोखका रूपमा हेरिने नृत्य हाल हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ। फुर्सदको समयमा केही नयाँ कुरा सिक्ने उद्देश्यले यस्ता केन्द्रमा भीड हुने नृत्य प्रशिक्षकको अनुभव छ। मनोरञ्जनसँगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको नेपा डान्स एकेडेमीका रिना महर्जन बताउनुहुन्छ।
अभिनेता विजय लामा चलचित्र ‘अन्तिम संस्कार’मा प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको हो। अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ अनुबन्धित हुनुभएको थियो। यसैले पनि चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उहाँको भनाइ छ। ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनु भएको थियो। उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो। चलचित्रलाई मैले मेरो बुवाले दिएको अन्तिम उपहारका रूपमा लिएको छु।
साँखुमा लाग्ने एकमहिने श्रीस्वस्थानी व्रत कथा तथा शालीनदी मेलाको तयारी पूरा भएको छ। माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठल मेला भर्न आउने तथा व्रतालुलाई सहज हुने तरिकाले काम गरेको जानकारी दिनुभयो। उहाँले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लागत सङ्कलनका लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने, व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको जानकारी दिनुभयो। एकमहिने मेलामा ३० देखि ३५ लाख धर्मावलम्बी आउने श्रेष्ठको अनुमान छ।
कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ। सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०/१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो।
‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ। न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ। दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ।”
सरकारमा पुगेपछि सङ्घीय (केन्द्र) सरकारले अधिकार नदिएको गुनासो गर्ने दलहरू प्रदेश सरकार गठनमा सधैँ आफ्नो स्वायत्त अधिकार प्रयोग गर्न कमजोर देखिने गरेका छन्। कर्णाली प्रदेश सरकार गठनमा पनि यस पटक त्यस्तै दृश्य देखिएको छ। चुनावी नतिजा सार्वजनिक भएको करिब एक महिना बितिसक्दा पनि यहाँ सरकार गठनको प्रारम्भिक पहलसमेत भएको छैन। अचानक परिवर्तन भएको केन्द्रीय समीकरण बदलिँदा सत्ता साझेदार बन्न पुगेका कर्णाली प्रदेशका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्। तर, दुवै दलले औपचारिक छलफल त परै जाओस्; एकअर्काबीच संवादसमेत सुरु गरेका छैनन्।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ। सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आईसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ। आईसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो। सो अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शय्याको ‘पोजिटिभ प्रेसर’ आईसीयू सञ्चालनमा ल्याइने बताउनुभयो।
कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण गरिएको छ। कुनै पनि ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। तर लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो।
गाउँबस्तीका परम्परागत कुँडुले (घुमाउरा) घर लोप भएका छन्। पछिल्लो समय घर निर्माणमा जस्तापाता र कङ्क्रिट ढलान प्रयोग बढेपछि पाल्पाका ग्रामीण क्षेत्रमा रहेका परम्परागत कुँडुले घर लोप भएका हुन्। ढुङ्गा, माटो र खरले छाएका परम्परागत कुँडुले घर पछिल्लो समय लोप भएको पाल्पाका स्थानीयको भनाइ छ। कुँडुले घर बस्न स्वास्थ्यको दृष्टिकोणले उपयुक्त भए पनि आधुनिक सामग्री प्रयोगले यस्ता घर लोप भएको निस्दी–६ का वडाध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो।
शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो।
जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी कागजात १५ दिनभित्र पेस गर्न उद्योगहरूलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।