• ११ मंसिर २०८१, मङ्गलबार

नारा लेकको हिउँ पन्छाएर सडक सुचारु

blog

नारा लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य गर्दै डोजर । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, पुस २१ गते । कर्णाली कोरिडोर अन्तर्गतको सिमिकोट हिस्सा सडक खण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको छ । गाउँपालिकाले मेशिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउँ पन्छाएपछि यातायात सुचारु भएका हाे । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले गत असोज १९ देखि २४ गतेसम्म नारा लेकमा परेर जमेको हिउँ डोजरले पन्छाएर यातायात सुचारु भएको बताउनुभयो । उक्त सडक तीन महिनापछि गाउँपालिकाको प्रयासमा सुचारु भएको हो । उहाँले तीन किलोमिटर सडकमा तीन फिटसम्म जमेको हिउँ डोजर दुई दिन लगाएर सडक सफा गरिएको बताउनुभयो । उहाँले डोजरबाट हिउँ पन्छाउने कार्यका साथै सडकमा गएको पहिरो समेत पन्छाएर सडक मर्मत कार्य भएको बताउनुभयो । 

सडकमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भए लगत्तै हिस्साबाट सिमकोटका लागि चार वडा बोलेरो जिप र टिपर सामान ढुवानी भएर आउन सफल भएका छन् । ती यातायातका साधनले गत पुस १३ गते चीनले एकतर्फ नाका खुलाउFदा नेपाल आयात भएको व्यापारीको सामान ढुवानी हुन पाएको छ । डोजर पनि चिनियाँ पक्षले नाम्खा गाउँपालिकालाई सहयोग दिएको थियो । अध्यक्ष लामाले चीन सरकारबाट सहयोगस्वरूप उपलब्ध भएको डोजर सुरुमै सडक मर्मत तथा हिउँ पन्छाउने कार्यमा प्रयोग भएको छ । अब अर्को हिउँ नपर्दासम्म यातायात सुचारु हुनेछन् । अध्यक्ष लामाले अब हिउँ परे पनि डोजर भएको कारण सडकमा जमेको हिउँ पन्छाउन कुनै समस्या नहुने बताउनुभयो । उक्त सडक हिस्सा सिमिकोट सडक आयोजनाको जिम्मामा रहेको भए पनि नारामा जमेको हिउँ आयोजनाले पन्छाउने कार्य गरेको थिएन । 

नारा लेख चार हजार छ सय मिटर अग्लो स्थानमा छ । आगामी वैशाख जेठ महिनासम्म बन्द हुने उक्त सडक पहिलो पटक पुस महिनामा हिउँ पन्छाएर सुचारु भएको हो । नारामा जमेको हिउँ पन्छाउने कार्य भएर यातायात सुचारु भएको भए पनि लिमी जाने न्यालु लेकको हिउँ फाल्ने कार्य भने हुन सकेको छैन ।