सुदूरपश्चिम प्रदेशको आफ्नै विशेष मौलिक पहिचान छ । कला संस्कृति, वेशभूषा, रहनसहन, चाडपर्वमा यो क्षेत्र निकै धनी मानिन्छ । हिमाली ‘ब्यासी–सौका’ समुदायदेखि तराईमा ‘थारू’ (राना–डगौरा) समुदायका साथै मध्यपहाडी क्षेत्रमा बसोबास रहेका सबै समुदायको आफ्नै मौलिक चाडपर्व रहेका छन्, आफ्नै कला संस्कृति छन् ।
सुदूरपश्चिममा विसु, गौरा, माघी धुमधामले मनाइने चाडपर्व हुन् । यी चाडपर्वका अतिरिक्त पहाडी क्षेत्रमा अन्य थुप्रै चाडपर्व छन् तर तिनले स्थानीयस्तरबाहेक बाहिर पहिचान पाएका छैनन् । यस्तै सुदूरपश्चिममा उत्सवसाथ मनाइने एक पर्व हो ‘भुवो’ अर्थात् ‘भस्सो’ । यो पर्व खेलेर (नाचेर) मनाइन्छ । यद्यपि भुवो खेल (नाच) मा पुरुषको मात्रै सहभागिता रहन्छ । यो पर्व ‘भुवो’ र ‘भस्सो’ दुवै नामले चिनिन्छ । कहीँ यसलाई भुवो खेल्ने (नाच्ने) त कहीँ भस्सो खेल्ने भनिन्छ ।
स्थानीय भाषामा यस पर्वमा मनाइने चाडलाई ‘भ्वात्यार’ (भुवो–तिहार) तथा ‘भस्सेत्यार’ (भस्सो–तिहार) भनिन्छ । सुदूरपश्चिममा चाडलाई ‘त्यार’ (तिहार) भन्ने चलन छ । त्यसको अर्थ दसैँपछि आउने तिहार भन्ने होइन । जुठो पर्दा भ्वात्यार बारिन्छ ।
बर्सेनि पुस महिनामा औँशीदेखि सुरु हुने यस पर्वको आफ्नै विशेषता छ । यस पर्वको सुरुवात तत्कालीन डोटी राज्य (हाल डडेलधुरा) का मल्ल ‘रैका’ राजाबाट भएको मानिन्छ । तथापि डडेलधुरामा सबैतिर यो पर्व नमनाइनुलाई भने अनौठो मानिन्छ । त्यसै गरी डोटी राज्यकै अङ्ग बैतडी र दार्चुलाका सबै क्षेत्रमा पनि यो पर्व मनाएको देखिँदैन । बझाङ, बाजुरा, डोटी र अछामका केही भागमा भुवो अर्थात् भस्सो पर्व धुमधामसाथ मनाइन्छ ।
कर्णाली प्रदेशको दैलेखमा समेत भुवोको प्रभाव छ । यो सुदूरपश्चिम र कर्णालीको दैलेखतिर मनाइने भुवो खेलमा सामान्य फरक छ ।
सुदूरपश्चिमइतरका लेखक तथा इतिहासकारले भने भुवो पर्वको वास्तविकता नबुझी बिनाअध्ययन अनुमानका भरमा गलत अर्थ लगाएका छन् । तिनीहरूमध्ये कसैले भुवोलाई पुरुषको ‘रत्यौली’ त कसैले ‘हातहतियारसहित भूतप्रेतलाई तर्साउन सुरु गरिएको नाच भनेर गलत अर्थ लगाएका छन् । स्थानीय भने भुवो र भस्सोलाई विशेष पर्वका रूपमा मनाउँछन् । भुवोलाई महाभारतकालीन युद्धको अवशेष मान्दछन् ।
पुसे औँशीका दिन चाडपर्वसहित मनाइने भुवो खेलको सुरुवात भने त्यसको एक साताअघि थालिन्छ । त्यसका लागि सुरुमा भुवो पोल्ने ठाउँमा दाउरा थुपारिन्छ । यसरी दाउरा थुपार्नुलाई ‘भुवो खेड्नु’ (जम्मा गर्नु) भनिन्छ । भुवो जम्मा गर्दा गाउँका वयस्क ‘आउ हो भाइ हो दौडी दौडी...’ भन्ने गीत गाउँदै सबै एक ठाउँमा जम्मा हुन्छन् । त्यसपछि सबैले दाउरा भुवो पोल्ने ठाउँमा पु¥याएर थुपार्छन् ।
यसरी थुपारिने दाउराको चाङ ठूलो हुन्छ । त्यसपछि पुसे औँशीको अघिल्लो रात गाउँको प्रत्येक घरका पुरुष भेला भई रातभर धुनी जगाएर जाग्राम बस्ने गरिन्छ । त्यसरी धुनी जगाउने ठाउँलाई स्थान र समुदाय अनुसार ‘भुवागडो’ ‘भ्वागडो’ भनिन्छ । भुवागडोमा रातभरि आगोसहित धुनी जगाउनुलाई ‘भुवो जगाउनु’ भन्ने गरिएको छ ।
यसरी भुवो जगाएपछि बिहान झिसमिसेसँगै सबै जना हातमा सल्लाको ठूलो दियालो अर्थात् राँको बोकेर भुवो पोल्ने ठाउँमा जम्मा पारिएको भुवोलाई जलाउन अघि बढ्छन् । यसरी अघि बढ्दा गाउँका बुढापाका अघि र तन्नेरीहरू पछि पछि भुवो गीत गाउँदै जान्छन् । भुवो पोल्ने ठाउँमा भुवा जलाउन बाजागाजासहित गइन्छ । त्यहाँ पुगेपछि गाउँका मुखियाले भुवोमा आगो लगाउँछन् । त्यसपछि सबैले आआफूले बोकेको राँकोबाट भुवो जलाउँछन् ।
भुवो जलाउँदा शरीरमा भएको लुतोलगायतका रोग लैजा भन्ने गरिन्छ । भुवो दहनपछि सबैले नजिकैको पानीको धारा, पँधेरा, कुवा वा नदीमा नुहाएर घर फर्कन्छन् । भुवो दहनपश्चात् ननुहाउनुलाई चोखो मानिँदैन । भुवो दहनको दोस्रो दिन परेवा तिथि (प्रतिपदा) मा सबैको घरमा परिकार पाक्छ । त्यस दिनलाई ‘भ्वात्यार’ (भुवो–तिहार) तथा ‘भस्सेत्यार’ (भस्सो–तिहार) भनिन्छ ।
त्यसै दिन सबैको घरमा चिउरा कुटिन्छ । भुवोको चिउरा विशेष मानिन्छ । चिउराका लागि केही दिनअघि नै धान भिजाएर राखिन्छ । परेवाका दिन कुटिने चिउरालाई पिसेर थोरै पिठो बनाइन्छ । चिउराको पिठोमा केशरी रङ मिसाएर चिउरासहित टीकाका रूपमा लगाइन्छ । जसलाई ‘च्युडिपिठाया’ अर्थात् ‘च्युडिपीठा’ भनिन्छ । च्युडिपिठाया ठूलाले सानालाई लगाएर आशीर्वाद दिने चलन छ ।
दुत्या (द्वितीया) का दिनदेखि गाउँका सबै जना भुवागडो अर्थात् देवताको थान (मन्दिर) मा भेला भई ‘भुवो’ खेल्छन् । भुवो खेल (नाच) समूहमा गोलबद्ध भई बाजाको तालमा माडा (गीत) सँगै खेलिन्छ । विगतमा भुवो खेल्दा (नाच्दा) सबैले शरीरमा झगुलो (तलमाथिसम्मको भोटो आकारको परम्परागत पहिरन) र शिरमा भिटुली (फेटा/पगरी) बाँध्ने चलन थियो । हाल यो चलन अरूतिर लोप भए पनि अछाममा भने जीवित छ ।
भुवो खेलमा सहभागी सबैको दाहिने हातमा तरबार र बायाँ हातमा ढाल हुन्छ । भुवो खेलका आफ्नै गीत हुन्छन् । जसलाई स्थानीय भाषामा ‘माडा’ भनिन्छ । जसरी देउसीमा एक जना भट्याउने र बाँकीले देउसी भन्ने चलन छ, भुवो खेलमा पनि करिब करिब त्यस्तै छनक पाइन्छ तर भुवोमा भट्याउनेहरू सामूहिक हुन्छन् । त्यहाँ त्यसरी भट्याउनेलाई ‘माडा हाल्ने’ भनिन्छ । माडा हाल्ने (गीत भट्याउने) लाई बाँकी सबैले ‘भस्सो रे भस्सो’ भन्दै साथ दिन्छन् । माडा पाका व्यक्तिले हाल्छन् (भट्याउँछन्) भने युवाले त्यसमा साथ दिन्छन् ।
माडा हाल्ने (भट्याउने) ले माडाको सुस्त तालमा सुरु गर्छन् । माडा बाजाको तालमा मिलाइन्छ । ‘माडा’ हालिसकेपछि (गीत भट्टाइसकेपछि) भस्सोको दोस्रो चरण सुरु हुन्छ । त्यसलाई ‘चाली’ भनिन्छ । चाली बाजाको तालमा तरबार र ढालसहित तीन कदम पछाडि र तीन कदम अगाडि छिटो छिटो खेलिन्छ । चालीमा बाजाको ताल मिल्नु पर्छ । सबैको खुट्टाको चाल पनि मिलाइन्छ । यसरी खेलिने चाली युद्धाभ्यास झैँ लाग्छ ।
भुवो सुरु भएपछि गाउँको हरेकका घरमा पुगेर खेलिन्छ । भुवो खेल्नहरूलाई ‘भस्सारा’ भनिन्छ । भुवो सबैभन्दा पहिले गाउँका जिम्मुवाल, मुखियाको घरबाट सुरु हुन्छ । गाउँमा कसैको घरमा सन्तान जन्मेको छ भने त्यस घरमा भस्साराहरूले आशिष दिने गर्दछन् । त्यस घरका घरमुलीबाट माडा (गीत) हालेर (गाएर) भातबाख्रो माग्ने चलन छ ।
भुवो पुरुषले मात्रै खेल्ने भएकाले यसमा महिलाको सहभागिता रहँदैन । यस खेलमा जातीय विभेद हुँदैन । भुवोमा सबै समुदायको सहभागिता रहन्छ । भुवो खेल्न आउने भस्सारालाई घर घरबाट चिउरा र दक्षिणामा पैसा दिइन्छ । त्यसरी दिइने चिउरा बोक्न विशेष मानिस खटाइन्छ । त्यसरी दिइने चिउरालाई प्रसादका रूपमा ग्रहण गरिन्छ ।
भुवो पर्व चार/पाँच दिनसम्म रहन्छ । त्यसपछि भुवो बिसर्जन गरिन्छ । भुवो बिसर्जनमा दक्षिणास्वरूप उठेको रकमबाट बोका किनेर ‘भुवागडो’ मा बलि दिई भुवागडो र हतियार पुज्ने चलन छ । भुवागडो र हतियार पुजनसँगै भुवो बिसर्जन हुन्छ । अचेल भुवोबाट उठ्ने रकम सामाजिक काममा पनि लगाउने गरिएको छ ।
भुवो खेलको चरित्र हेर्दा यो लडाइँमा आधारित नृत्यका रूपमा देखिन्छ । भुवो खेल्ने भस्साराको हातमा ढाल र तरबार रहनु अनि बाजाको सुरमा लडाइँमा सरिक भए झँै खेल्नु (नाच्नु) ले त्यसको पुष्टि गर्छ । त्यसैले यस खेल (नाच) लाई महाभारतकालीन पाण्डव–कौरवको लडाइँसँग जोड्ने गरिएको छ ।
भुवोको माडा (गीत) मा डोटीका रैका (मल्ल) राजादेखि पाण्डव र स्वर्गका राजा इन्द्रको बखान पाइन्छ । माडा गीतमा स्थानीय परिवेशका कुरा पनि समावेश हुन्छन् । रैका राजा, पाण्डव–कौरव र इन्द्रको बखान समेटिएका भुवोको माडा (गीत) का केही नमुना यस प्रकार छन् :–
सुदूरपश्चिममा प्रचलित भुवो तथा भस्सो खेल अर्थात् पर्व आधुनिकीकरणका नाममा लोप हुने क्रममा छ । कतिपय गाउँमा पहिले जस्तो मनाइन छोडिएको छ । मौलिक भुवो पर्वको संरक्षण, सवर्धन र प्रवर्धन हुन सके त्यसले स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने छ ।
–युवामञ्च