एकिन्द्र तिमल्सिना
टीकापुर, माघ ५ गते । टीकापुर नगरपालिकाका प्रमुख (मेयर) रामलाल डङ्गौरा थारूले पदबाट राजीनामा दिनु भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्न थारूले राजीनामा दिनु भएको हो ।
२०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठने विचार गरेको थिएँ तर प्रतिनिधि सभाको निर्वाचन पहिले आएर पार्टीले टिकट दिएपछि नयाँ जिम्मेवारीमा जानु पर्ने भयो, थारूले भन्नु भयो ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित डङ्गौरा सो दल अहिले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दै हुनु हुन्छ ।
संविधानको धारा २१६ को उपधारा ८ अनुसार प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त भएको मानिने व्यवस्था छ । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटालामा संलग्न भनी २०८२ माघ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि दुई वर्ष अघिदेखि उपप्रमुख पद पनि तामेलीमा छ । उपप्रमुखको मुद्दाको अन्तिम किनारा नलागेकाले उपप्रमुखले गर्नुपर्ने भनी कानुनले तोकेका कामहरू पनि अलपत्र छन् ।
दुई विधेयक पारित
टीकापुर नगरपालिकाको पुस २८ गते सुरु भएको १८ औँ नगर सभाको दोस्रो बैठकमा पेस भएको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ सुझावसहित पारित भएको छ ।
नगरपालिकाको १७ औं नगर सभामा ९३ करोड ६७ लाख ९७ हजार १२७ बराबरको बजेट विनियोजन भएकोमा १८ औंँ नगर सभाले चालु वर्षको रकमान्तर, कार्यक्रम संशोधन र गत वर्षको अघिल्लो वर्षको बचत र विभाज्य कोषको बाँडफाँट गरी नौ करोड ७३ लाख ५७ हजार ५८१ बराबरको बजेट विनियोजन तथा रकमान्तर गरी जम्मा १ अर्ब ३ करोड ४१ लाख ५४ हजार ७०८ रुपियाँ पुर्याएको छ ।
सभाको पहिलो बैठकमा सदस्य मोहन विकले चालु आर्थिक वर्षको हालसम्मको आय तथा खर्च विवरण प्रस्तुत गर्नु भएको छ । विवरण अनुसार हालसम्म विभिन्न स्रोतबाट ४० करोड ३२ लाख ८१ हजार रुपियाँ आय भएको र खर्चतर्फ चालु आवमा २० करोड १२ लाख २५ हजार, पूँजीगततर्फ एक करोड ३१ लाख ३६ हजार खर्च भएको जानकारी दिनु भयो । वडाहरू र पशुसेवा शाखाको पुँजीगत खर्च प्रगति शून्य प्रतिशत रहेको छ ।