काठमाडौँ, माघ ५ गते । नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाल ओलिम्पियन सङ्घका अध्यक्षसमेत रहनुभएका विष्ट आइतबार सम्पन्न अनलाइन साधारण सभाबाट नयाँ कार्यसमितिमा चयन हुनुभएको सङ्घका महासचिव राजेन्द्र भण्डारीले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ । अनलाइन निर्वाचनमा विश्वभरबाट एक सय ५५ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारण सभाबाट स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन तथा चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
नव निर्वाचित कार्यसमितिअन्तर्गत एसिया क्षेत्रको प्रतिनिधिका रुपमा नेपालबाट पहिलो पटक ओलिम्पियन विस्ट निर्वाचित हुनु भएको हो । यस उपलब्धि सम्पूर्ण नेपाली खेलकुद जगतका लागि अत्यन्तै गर्वको विषय भएको सङ्घले जनाएको छ ।