• ५ माघ २०८२, सोमबार

चुनावी अभियान : गाउँ–गाउँमा उम्मेदवार

blog

मतदाता भेटघाटमा एमाले क्षेत्र २ बाट सिफारिस कुलमणि देवकोटा । तस्बिरः रजनी योगी

रजनी योगी

सुर्खेत, माघ ५ गते । आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीति तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् । 

निर्वाचनलक्षित गतिविधिमा सक्रियता बढ्न थालेको छ । दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् ।

सुर्खेतमा पनि राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँकेन्द्रित अभियान सुरु गरेका हुन् । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर यी दुई दलका उम्मेदवारहरू पार्टीका अगुवा कार्यकर्ता र जनतासँग भेटघाट कार्यक्रम लिएर गाउँ–गाउँमा पुगिरहेका छन् । नेकपाले पुस १३ गते नै दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरेको थियो । जसअन्तर्गत क्षेत्र नम्बर १ मा जीतबहादुर राना र क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेकपा (एमाले) ले पुस १९ गते दुवै क्षेत्रको उम्मेदवार टु्ङ्गो लगाएको थियो । एमालेबाट क्षेत्र नम्बर १ मा ध्रुव शाही र क्षेत्र नम्बर २ मा कुलमणि देवकोटा उम्मेदवार हुनुहुन्छ । यी दुई दलहरूले एकल उम्मेदवार छानेसँगै चुनावी अभियानमा सरिक हुन सहज भएको हो । 

एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले निर्वाचन केन्द्रित अभियान सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार बराह ताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा बैठक सम्पन्न भइसकेका छन् । 

बैठकहरूले वडा तथा गाउँबस्तीहरूमा पार्टी तथा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने र एमालेलाई विस्तार र सुदृढ गर्दै आम मतदातालाई विकास र समृद्धिको लागि एमालेलाई जिताउन मतदान गर्न आह्वान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै, वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका र लेकवेशी नगरपालिकामा बैठकको सम्पन्न गरिएको छ । 

नेपाली कांग्रेस भने आन्तरिक विवादमा फसेको छ । कांग्रेसले मंसिर २३ मा नै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो । 

खड्का चुनाव नलड्ने 

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने हुनुभएको छ । सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा हुनुभएका खड्का प्रचार–प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उहाँनिकट नेताले जानकारी दिएका छन् ।