• १२ मंसिर २०८१, बुधबार

लोप हुँदै कुँडुले घर

blog

तानसेन समाचारदाता

पाल्पा, पुस २१ गते । गाउँबस्तीका परम्परागत कुँडुले (घुमाउरा) घर लोप भएका छन्। पछिल्लो समय घर निर्माणमा जस्तापाता र कङ्क्रिट ढलान प्रयोग बढेपछि पाल्पाका ग्रामीण क्षेत्रमा रहेका परम्परागत कुँडुले घर लोप भएका हुन्। ढुङ्गा, माटो र खरले छाएका परम्परागत कुँडुले घर पछिल्लो समय लोप भएको पाल्पाका स्थानीयको भनाइ छ। कुँडुले घर बस्न स्वास्थ्यको दृष्टिकोणले उपयुक्त भए पनि आधुनिक सामग्री प्रयोगले यस्ता घर लोप भएको निस्दी–६ का वडाध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो।

“आधुनिक घरमा बस्ने चाहनाले परम्परागत कुँडुले घर लोप भइसकेको अवस्था छ,” उहाँले भन्नुभयो, “अबका केही वर्षमा कुँडुले घर कहीँ पनि देखिँदैनन्।” कुँडुले घरको निरन्तर संरक्षण तथा मर्मत गर्नुपर्ने बाध्यताले समेत सर्वसाधारण यसलाई हटाउन बाध्य छन्। केही वर्ष अघिसम्म कुँडुले घर धेरै देखिन्थे, अहिले सिमेन्ट प्रयोग गरेर ढलानका घर र जस्ताले छाएका घर देखिन्छन्। अचेल माटो र ढुङ्गाको घरमा पनि जस्तापाता छाउनेक्रम ह्वात्तै बढेको उहाँले भन्नुभयो।

केही वर्ष अघिसम्म पाल्पाको निस्दी र पूर्वखोलाका विभिन्न स्थानमा खरले छाएका घुमाउरो (कुँडुले) घर देखिन्थ्यो। तर पछिल्लो एक दशकयता यसको सङ्ख्या घटेर लोप हुनेक्रममा रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताउनुभयो। मानिसले पैसा कमाएपछि आधुनिक घर बनाउने चाहनाले परम्परागत कुँडुले घर मासिँदै गएको उहाँले बताउनुभयो। सानो खर्चमा कुँडुले घर बनाउन सकिन्छ। यसमा बस्दा स्वास्थ्यका लागि समेत लाभ हुने दाबी गरिएको छ। यसबारे स्थानीय बासिन्दालाई सचेत बनाउन नसक्दा ग्रामीण क्षेत्रमा समेत धमाधम कुँडुले घर भत्काएर कङ्क्रिटका घर बनाउनेक्रम बढेको स्थानीय बासिन्दा दमनसिंह पाटामगरले बताउनुभयो। 

निस्दीको ज्यामिरे, अर्चले, गल्घा, बाकामलाङ, पूर्वखोलाको सिलुवा, जल्पालगायतका स्थानका कुँडुले घर लोप भएका छन्। निस्दीको–३, झिरुबासको खादर गाउँमा भने अहिले पनि १०÷१२ वटा कुँडुले घर रहेको पालिकाले जनाएको छ।  कुँडुले घरको संरक्षण गर्न पालिकाबाट पहल गरे पनि स्थानीय बासिन्दाको संरक्षणमा रुचि नदेखिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो। यो वर्ष पनि कुँडुले घरको पहिचान गरेर संरक्षणका लागि पहल गरिरहेको दयालले बताउनुभयो।